फुडमाण्डुको ‘मध्यरात्रि फुड डेलिभरी सेवा’ सुरु

काठमाडौं । नेपालकै पहिलो खाना डेलिभरी सेवा प्रदायक फुडमाण्डुले ‘मध्यरात्रि फुड डेलिभरी सेवा’ सुरु गरेको छ। कम्पनीले बदलिँदो जीवनशैली र ग्राहकहरूको मागलाई मध्यनजर गर्दै राती १२ बजेसम्म खाना अर्डर गर्न सकिने सेवा सञ्चालनमा ल्याएको हो।
फुडमाण्डुकी ब्राण्ड एन्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले यसबारे बताउँदै भनिन्, “हामी हाम्रा ग्राहकहरूको जीवनशैली र आवश्यकता अनुसार हाम्रा सेवाहरु पनि थप गर्दै गइरहेका छौं। हामीले हाम्रा ग्राहकहरुको आवश्यकता बुझेर यो नयाँ सेवा सुरु गरेका हौँ।”
शुरुवातमा सेवा काठमाडौं उपत्यकाको रिङ्गरोड र वरिपरिका क्षेत्रमा मात्र सीमित हुनेछ। कम्पनीले भनेको छ, सेवा विस्तार क्रमशः उपत्यकाका अन्य क्षेत्रहरूमासमेत हुनेछ।
यो नयाँ सेवा विशेषगरी राती काम गर्ने, ढिलोसम्म जागा बस्ने वा आकस्मिक अवस्थामा खाना आवश्यक पर्ने ग्राहकहरूका लागि लक्षित गरिएको छ। कम्पनीका अनुसार, सेवा विस्तारसँगै फुडमाण्डुको ग्राहक सन्तुष्टि र बजार हिस्सा बढ्ने अपेक्षा गरिएको छ।
सन् २०१० मा स्थापना भएको फुडमाण्डु हाल काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, बुटवल र पोखरामा सक्रिय छ। कम्पनीले १००० भन्दा बढी रेस्टुरेन्टहरूसँगको साझेदारीमार्फत खाना अर्डर सेवा दिँदै आएको छ। साथै, ‘फुडमाण्डु वानमार्ट’ मार्फत दैनिक उपभोग्य सामग्रीहरू पनि तुरुन्तै ग्राहकसम्म पुर्याउँदै आएको छ।
यो नयाँ सेवा प्रयोग गर्न सकिने समयावधि र क्षेत्र विस्तारको घोषणासँगै फुडमाण्डुले डिजिटल फुड डेलिभरी सेवामा नयाँ मापदण्ड कायम गर्ने संकेत दिएको छ।