राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयमा पेश गर्यो नीतिगत तथा कार्यक्रमगत प्रतिवेदन

काठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/०८३ को बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफलसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयमा पेश गरेको छ ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।
अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारका लागि नीतिगत, कानूनी तथा संरचनागत सुधारहरू भइरहेको र त्यसको परिणामस्वरूप पछिल्लो दिनमा अर्थतन्त्रका समस्त सूचकहरू सकारात्मक भएको बताए ।
उनले अर्थतन्त्रमा सुधार आइरहेको र आगामी आर्थिक वर्षको बजेट पनि सबल अर्थतन्त्र निर्माणमा केन्द्रित हुने जानकारी दिए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा अधिकारीले मन्त्रालयहरूबीचको समन्वय र आगामी आर्थिक वर्षको बजेट बनाउन सहज होस् भन्ने उद्देश्यले मन्त्रालय, निकाय र आयोगसँग व्यापक परामर्श र छलफल गरी प्रतिवेदन तयार पारेको बताए ।