सूर्य नेपाल एनपिजिए म्याच-प्ले: उपाधिका लागि निरज र धन भिड्ने

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधिका लागि नेपाल नम्बर दुई गल्फर निरज तामाङ र धन बहादुर थापा उपाधिका लागि भिड्ने भएका छन्। उपाधिको लागि निरज र धनबीच भोलि ३६ होलको प्रतिस्पर्धा हुनेछ।
रोयल नेपाल गल्फ क्लबमा आज भएको सेमिफाइनलमा वरियताको दोस्रो स्थानमा रहेका निरजले डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापतिलाई ३/२ ले हराउँदै फाइनलमा स्थान बनाए। यसअघि निरजले आज भएको क्वाटरफाइनल खेलमा रामे मगरलाई ३/२ ले हराएका थिए।
दिनेशले भने क्वाटरफाइनलमा ११औं वरियताका अनुभवी तोरण विक्रम शाहीलाई १८ औं होलमा माथ दिएका थिए। तर सेमिफाइनलमा निरजसँग हारपछि उनले तेस्रो स्थानको लागि खेल्नेछन्।
दोस्रो सेमिफाइनल खेलमा आठौं वरियताका धन बहादुर थापाले चौथो वरियताका रवि खड्कालाई ३/२ को नतिजामा माथ दिए। धनले आजै भएको क्वाटरफाइनलमा अप्रत्याशित नतिजा निकाल्दै नेपाल नम्बर एक गल्फर भुवन नगरकोटीलाई १९औं होलमा हराएका थिए। १८ होलसम्म खेल बराबरीमा सकिएपछि पहिलो एक्स्ट्रा होलमा धनले जित निकालेका हुन्।
यसअघि क्वाटरफाइनलमा रविले भने प्रदीप कुमार लामालाई ३/२ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका थिए। रवि र भुवनले भोलि तेस्रो स्थानको लागि खेल्नेछन्।
सन् २०२३-२४ को अर्डर अफ मेरिटको आधारमा १६ प्रोफेसनल गल्फरले प्रतिस्पर्धा गरेका हुन्। प्रतियोगिताको कुल नगद पुरस्कार राशी २ लाख ५० हजार रहेको छ। उपाधि विजेताले नगद ६० हजार प्राप्त गर्नेछन। यसैगरी दोस्रो हुनेले ४२ हजार, तेस्रो हुनेले ३२ हजार र चौथो हुनेले २४ हजार हात पार्नेछन्। क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले ११ हजार प्राप्त गर्नेछन्।