सूर्य नेपाल एनपिजिए म्याच-प्ले सुरू

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच-प्लेको पहिलो दिन नम्बर एक प्रो भुवन नगरकोटी र नम्बर दुई खेलाडी निरज तामाङले फराकिलो अन्तरको जितमा क्वाटरफाइनलमा स्थान बनाएका छन्।
डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापति, धन बहादुर थापा, रवि खड्का, प्रदीप कुमार लामा, तोरण विक्रम शाही र रामे मगरले पनि अन्तिम आठमा स्थान बनाए।
रोयल नेपाल गल्फ क्लबमा आज भएको खेलमा नेपाल नम्बर एक गल्फर भुवन नगरकोटीले १६ औं वरियताका पशुपति शर्मालाई ५/४ ले हराए। चार होल अगाडि जित निकालेका उनले अब क्वाटरफाइनलमा धन बहादुर थापालाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएका छन्।
आठौं वरियताका धन र नवौं वरियताका भुवन कुमार रोक्काबीच कडा प्रतिस्पर्धा चलेको थियो। १७ औं होलको समाप्ती सम्म दुवै बराबरीमा थिए। १८ औं होल जितेर धनले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।
नेपाल नम्बर २ प्रो निरज तामाङले १५ औं वरियताका सूर्य प्रसाद शर्मालाई सहजै ५/४ ले हराए। चार होल अगाडि पहिलो चरणको खेल जितेका निरज यो सिजन तेस्रो उपाधि जित्ने दाउमा छन्। निरजले अब सातौं वरियताका रामे मगरसँग क्वाटरफाइनल खेल्नेछन्। रामेले १० औं वरियताका दीपक मगरलाई ४/३ को नतिजामा माथ दिए।
डिफेन्डिङ च्याम्पियन तेस्रो वरियताका दिनेश प्रजापतिले १४ औं वरियताका रमेश अधिकारीलाई ४/३ ले माथ दिए। उनले अब अनुभवी तोरण विक्रम शाहीसँग सेमिफाइनल प्रवेशको लागि खेल्नेछन्। ११औं वरियताका तोरणसँग छैटौं वरियताका जयराम श्रेष्ठ ३/२ ले पराजित हुन पुगे।
यसैगरी चौथो वरियताका रवि खड्काले १३ औं वरियताका टंक बहादुर कार्कीलाई ३/२ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे। रविले अब १२औं वरियताका प्रदीप कुमार लामासँग खेल्नेछन्। प्रदीपले पाँचौ वरियताका सञ्जय लामा विरूद्ध २/१ को अप्रत्याशित नतिजा निकाले।
सन् २०२३-२४ को अर्डर अफ मेरिटको आधारमा १६ प्रोफेसनल गल्फरले प्रतिस्पर्धा गरेका हुन्। प्रतियोगिताको कुल नगद पुरस्कार राशी २ लाख ५० हजार रहेको छ। उपाधि विजेताले नगद ६० हजार प्राप्त गर्नेछन। यसैगरी दोस्रो हुनेले ४२ हजार, तेस्रो हुनेले ३२ हजार र चौथो हुनेले २४ हजार हात पार्नेछन्। क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले ११ हजार प्राप्त गर्नेछन्। आज पहिलो चरणमा पराजित भएका आठ खेलाडीले नगद ६/६ हजार पाउनेछन्।
भोलि क्वाटरफाइनल र सेमिफाइनल खेल १८/१८ होलको हुनेछ। फाइनल र तेस्रो स्थानको लागि विहिवार प्रतिस्पर्धा हुनेछ। फाइनल भने ३६ होलको हुनेछ।
भोलिको खेल तालिका
भुवन नगरकोटी र पशुपति शर्मा
निरज तामाङ र सूर्य प्रसाद शर्मा
दिनेश प्रजापति र रमेश अधिकारी
रवि खड्का र टंक बहादुर कार्की
सञ्जय लामा र प्रदीप कुमार लामा
जयराम श्रेष्ठ र तोरण बिक्रम शाही
रामे मगर र दीपक मगर
धन बहादुर थापा र भुवन कुमार रोक्का