गभर्नर नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सरकारले ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ । गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोकत्वमा सिफारिस गठन समिति गठन भएको हो ।
साथै, सिफारिस समितिको सदस्यमा नेपाल राष्ट्र बैंककै पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल नियुक्त भएका छन् । भट्टराई पूर्वगभर्नर हुन् भने पौडेल मौद्रिक तथा वित्त व्यवस्थापन क्षेत्रका विज्ञ हुन् ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिअघि अर्थमन्त्रीको नेतृत्वमा एउटा सिफारिस समिति गठन गर्नुपर्छ । जुन समितिमा पूर्वगभर्नरमध्ये एक जना र आर्थिक, मौद्रिक, वित्तीय वा व्यवस्थापन क्षेत्रका विज्ञमध्ये एक जना सदस्य रहन्छन् ।
वर्तमान गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल यही चैत २४ गते सकिँदै छ । २०७६ चैत २४ गते नियुक्ति पाएका उनले चैत २५ गतेदेखि कार्यभार सम्हालेका थिए ।
गठित समितिले गभर्नरको लागि तीन जनाको नाम सिफारिस गर्ने छ। जसमा डेपुटी गभर्नरमध्ये १ जनाको नाम सिफारिस गर्नै पर्ने व्यवस्था छ। जस बमोजिम हाल डेपुटी गभर्नर रहेका निलम ढुङ्गाना, बमबहादुर मिश्रमध्ये एक जना पक्का सिफारिसमा पर्ने छन्। उनीहरू सिफारिसमा त पर्ने नै छन्। तर उनीहरूले यस अघि नै लबिङ सुरु गरिसकेका छन्।
यस पटक गभर्नर नेपाली काँग्रेसको पोल्टोमा पर्ने अनुमान गरिएको छ। किनकि प्रमुख निर्वाचन आयुक्तको समय पनि सकिँदै छ। एमालेले आउँदो निर्वाचनलाई महत्त्व दिने सम्भावना छ। जसले गर्दा उसले गभर्नर काँग्रेसलाई दिएर प्रमुख निर्वाचन आयुक्त लिने सम्भावना बढी छ। त्यसकारण एमाले निकटहरूको सम्भावना यस पटक अलि कम हुन सक्छ।
चाहना गर्नेमा यस अघि लगानी बोर्डमा सिइओ भइसकेका सुशील भट्टसमेत लर्बिङमा छन्। अर्को तर्फ पूर्वअर्थ सचिव रामेश्वर खनाल पनि गभर्नरका आंकाक्षी हुन्। तर उनीहरूले अहिलेसम्म आफ्नो मत जाहेर गरिसकेका छैनन्। सरकाले पत्याएर दिए उनीहरूले गभर्नर पद छाड्ने छैनन्।