कृषि उपजको बजारिकरण हुने र उत्पादन वृद्धि गर्ने योजना आवश्यक: भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल

बिर्तामोड । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागरिकको जीवनमा रुपान्तरण ल्याउने किसिमका योजनालाई प्राथमिकता दिन आग्रह गर्दै आधारभुत आवश्यकलाई नभूल्न भनेका छन् । मन्त्री दाहालले कृषि उपजको बजारिकरण हुने र उत्पादन वृद्धि गर्ने योजना आवश्यक भएको धारणा राखे ।
सरकारका साझेदारहरुबीच दर्विलो विश्वास रहेकोले सरकार कहिले ढल्छ भनेर धेरै पीर नलिन मन्त्री दाहालले विपक्षीहरु लाई सूझाव दिएका छन् । संसदभित्रको अंक गणित बुझेर मात्र सरकारको जोखाना हेर्नुपर्ने उनको धारणा छ ।
विभिन्न कार्यक्रममा सहभागी हुन हिजो साँझ झापा आएका भएका मन्त्री दाहालले बिर्तामोडमा जिल्लाका जनप्रतिनिधिहरु, प्रदेश सांसद, मन्त्री र जिल्लाका पार्टी नेताहरुसँगको भेटघाटमा यस्तो बताएका हुन । देश आधुनिक सुरुङ युगमा प्रवेश गरेको बताउदै उनले यो सरकार बनेपछि के कति काम भन्ने बारे बुझ्नलाई फिल्डमा जानुपर्ने बताए । अवरुद्ध योजनाहरु गति दिएको बताउँदै मन्त्री दाहालले विकासमा अवरोध हुने कानुन वा नियम संशोधन गर्दै जाने धारणा व्यक्त गरेका छन् ।
समृद्ध नेपाल, सुखी नेपालीको जग दर्विलो बनाउदै सरकारले विकास निर्माणको कामलाई गति दिने सरकारको प्रमुख दायित्व भएको बताएका छन् । मन्त्री दाहालका अनुसार आगामी बजेटमा योजनाहरु पहुँचका आधारमा नभई आवश्यकताका आधारमा छनौट गरिनेछ । जनप्रतिनिधिहरुलाई पनि सोही प्रकृतिका योजना सिफारिस गर्न सूझाव दिए ।