मंसिरका लागि अधिकांश बैंकले घटाए ब्याजदर, कुन बैंकको कति छ?
काठमाडौं । मंसिर महिनाका लागि पनि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाएका छन् ।
२० वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम औसत ब्याजदर घटेको छ । कात्तिक महिनामा यस्तो औसत ब्याजदर ६.१८ प्रतिशत रहेकोमा मंसिरमा घटेर ५.९६ प्रतिशत भएको छ ।
एक महिनामा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ०.२२ प्रतिशत विन्दुले घटेको हो । कात्तिकमा यस्तो ब्याजदर असोजको तुलनामा ०.२१ प्रतिशत विन्दुले घटेको थियो ।
सार्वजनिक सूचनाअनुसार मंसिरका लागि पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्यले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर केही बढाएको छ । ८ बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर स्थिर राखेका छन् ।
स्थिर राख्नेमा नेपाल एसबीआई, नेपाल, सानिमा, इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु, हिमालयन र एभरेस्ट छन् । ११ बैंकले भने घटाएका छन् । घटाउनेमा कृषि विकास, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, कुमारी, प्राइम, सिटिजन्स, नबिल, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, एनएमबी र एनआईसी एसिया छन् ।
मंसिर महिनामा व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर एनआईसी एसिया बैंकले ६.७९ प्रतिशत दिनेछ । कात्तिकमा व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर ७ प्रतिशत कायम भएको थियो ।
लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा केही उच्च ब्याजदर र छोटा अवधिको मुद्दती निक्षेपमा ब्याजदर केही कम गर्ने नीति बैंकहरूको देखिन्छ । निक्षेपको ब्याजदर घट्दा आधार दर घटेर कर्जाको ब्याजदरमा ऋणीलाई राहत हुनेछ ।
राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ ।
संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नुपर्छ । त्यस्तै व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा १ प्रतिशत विन्दु बढी ब्याज दिन सक्छन् ।
बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त हुनु, तर कर्जा प्रवाह सोअनुसार बढ्न नसक्दा लागत महँगिन जाने भएकाले बैंकहरुले निक्षेपमा ब्याजदर घटाइरहेका छन् बैंकहरुसँग तरलता पर्याप्त रहेपछि राष्ट्र बैंकले बोलकबोलमार्फत रकम खिचिरहेको छ ।
| बैंक | असोज | कात्तिक | मंसिर |
|---|---|---|---|
| नबिल | ६.७५ | ६.२५ | ५.७५ |
| नेपाल इन्भेष्टमेन्ट मेगा | ६.५ | ६.५ | ६.५ |
| माछापुच्छ्रे | ७ | ७ | ६ |
| हिमालयन | ७ | ६.२५ | ६.२५ |
| नेपाल एसबिआई | ६ | ६ | ६ |
| एभरेष्ट | ६ | ६ | ६ |
| एनआईसी एसिया | ७.१८ | ६.९९ | ६.७९ |
| स्ट्यान्डर्ड चार्टर्ड | ७ | ६.५ | ६.२५ |
| लक्ष्मी सनराइज | ६.५ | ६ | ५.७५ |
| कुमारी | ६.०१ | ६.०१ | ५.९१ |
| सिद्धार्थ | ६.५ | ६ | ६ |
| सानिमा | ५.९ | ६.१५ | ६.१५ |
| एनएमबि | ६.५ | ६.५ | ५.७५ |
| प्रभु | ६.१ | ६.१ | ६.१ |
| ग्लोबल आइएमई | ६.२५ | ६.२५ | ५.७५ |
| सिटिजन | ६.५ | ५.७५ | ५.६५ |
| प्राइम कमर्सियल | ६.२५ | ६ | ५.७५ |
| कृषि विकास | ६.०७ | ५.७५ | ५.५३ |
| नेपाल बैंक | ५.९५ | ५.९५ | ५.९५ |
| राष्ट्रिय वाणिज्य बैंक | ६ | ५.८ | ६ |
| औसत | ६.३९ | ६.१८ | ५.९९ |

