उपभोक्ता मूल्य सूचकाङ्कको आधार वर्ष परिवर्तन
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशन गर्दै आएको उपभोक्ता मूल्य सूचकाङ्कको आधार वर्ष परिवर्तन भएको छ । आर्थिक वर्ष २०७१/७२ आधार वर्ष मानेर आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गर्दै आएकोमा अब आर्थिक वर्ष २०८०/८१ कायम गरिएको छ ।
नयाँ उपभोक्ता मूल्य सूचकाङ्कका लागि आवश्यक आधारहरू राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७९/८० मा सञ्चालन गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथोको नतिजामा आधारित रहेको राष्ट्र बैंकले जनाएको छ ।
नयाँ उपभोक्ता मूल्य सूचकांकमा खाद्य तथा पेय पदार्थ समुहको भार ३५.४९ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको भार ६४.५१ प्रतिशत कायम भएको छ । विगतमा मदिराजन्य पेय पदार्थ, सूर्तिजन्य पदार्थ र रेष्टुरेण्ट तथा होटलको खाना उप-समूहलाई खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत राख्ने गरिएकोमा नयाँ सूचकाङ्क तयार गर्दा ती उप-समूहहरूलाई COICOP (Classification of Individual Consumption by Purpose-2018) अनुसार गैर-खाद्य तथा सेवा समूह अन्तर्गत राखिएको छ ।
मूल्य सूचकाङ्ग गणनाका लागि भारित वस्तु डालोमा २४९ वस्तु तथा सेवा समूहअन्तर्गत ५२५ वस्तु तथा सेवाहरूको मूल्य संकलन गरिएको छ । तीमध्ये साप्ताहिक, मासिक र त्रैमासिक रूपमा संकलन हुने वस्तु तथा सेवाहरूको संख्या क्रमशः ५९, ९४ र ३७२ ओटा छन् ।
नयाँ मूल्य सूचकाङ्क प्रदेशगतरूपमा समेत प्रकाशन गरिने राष्ट्र बैंकले जनाएको छ । मूल्य संकलनका लागि ७७ ओटै जिल्ला समावेश हुने गरी तराई क्षेत्रबाट २८, पहाडी क्षेत्रबाट ४३ र हिमाली क्षेत्रबाट १६ गरी जम्मा ८७ ओटा बजार केन्द्रहरू छनौटमा परेका छन् । जसमध्ये २१ ओटा ग्रामीण तथा ६६ ओटा सहरी बजार केन्द्रहरू छन् ।
प्रदेशगत रूपमा कोशीमा १५, मधेशमा १२, बागमतीमा १६, गण्डकीमा ११, लुम्बिनीमा १३, कर्णालीमा १० र सुदूरपश्चिममा १० ओटा बजार केन्द्रहरू छन् ।
नयाँ मूल्य सूचकाङ्क Consumer Price Index Manual 2020 र COICOP 2018) लगायत अन्य अन्तरराष्ट्रिय अभ्यासहरूमा आधारित रहेको जनाइएको छ ।