बैंकहरुले घटाए ब्याजदर, हेरौं कुन बैंकको कति ?
![Interest rate Interest rate](https://www.arthikpati.com/wp-content/uploads/2024/01/Interest-rate-1024x562-1024x585.jpg)
काठमाडौं । वाणिज्य बैंकहरुले माघ महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । एनएमबि र एभरेष्ट बैंकले भने पुस महिनाकै ब्याजदर यथावत राखेका छन् ।
पुस महिनामा ८.९९ प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर माघ महिनामा ८.१६ प्रतिशतविन्दुमा झरेको छ। बैंकहरुको औषत ब्याजदर ०.८२ प्रतिशतविन्दु घटेको हो।
तथ्यांक अनुसार एनएमबि बैंकले सबैभन्दा धेरै ९ प्रतिशतसम्म ब्याज दिने भएको छ । यता, कृषि विकास बैंकले भने सबैभन्दा कम ८.९६ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
बैंकहरुले मुद्दति निक्षेपमा दिने अधिकतम ब्याजदरमात्र यहाँ प्रस्तुत गरिएको हो । विभिन्न शीर्षक अनुसार विभिन्न किसिमका ब्याजदर तोकिएका छन् । यसका लागि लगानीकर्ता तथा ऋणीले सम्बन्धित बैंकको सूचना हेर्ने वा बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ ।
सबैभन्दा बढी ब्याजदर घटाउने बैंक भने प्राइम कमर्सियल बैंक रहेको छ। पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतमम १० प्रतिशतका दरले ब्याज दिइरहेको यस बैंकले माघ महिनामा ८.१ प्रतिशत मात्र ब्याज दिने भएको छ। त्यसैगरी, बैंकले संस्थागत मुद्दति निक्षेपमा अधिकतम ६.१ प्रतिशतका दरले ब्याज दिने भएको छ।
बैंकमा पैसा थुप्रिए पनि महँगो कर्जाको ब्याजदरका कारण कर्जा लगानी बढ्न सकेको छेन । अब विस्तारै बेस रेट पनि घट्दै जाँदा कर्जाको ब्याजदर पनि सस्तो हुने देखिएको छ । कर्जाको ब्याजदर एकल अंक वा १०–११ प्रतिशत हाराहारीमा झर्न सकेमा कर्जा प्रवाह बढ्ने बैंकरहरु बताउँछन् ।