घलेम्दी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौँ । घलेम्दी हाइड्रोपावर कम्पनीको २००% हकप्रद सेयरमा आवेदन दिने आज सोमबार पुस १६ गते अन्तिम दिन हो । सोमबार बैंकिङ समयसम्म यसमा आवेदन दिन सकिने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ । घलेम्दीले मंसिर १० गतेदेखि १ः२ अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो ।
जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ । उक्त हकप्रद सेयरको लागि यसले कात्तिक ३ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, कात्तिक २ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।
यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले आइएरएन बी रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्दछ । यसको हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।
हकप्रदमा मुक्तिनाथ क्यापिटल र घलेम्दी हाइड्रोपावरको कार्यलयबाट आवेदन दिन सकिन्छ । त्यस्तै, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र प्रभु बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
हाल घलेम्दी हाइड्रोपावरको चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि पुँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले संखुवासभामा रहेको छुजुङ खोला जलविद्युत आयोजनामा ५१ प्रतिशत सेयर कायम हुने गरी लगानी गर्न हकप्रद जारी गर्न लागेको हो । छुजुङ खोला जलविद्युत आयोजना सांग्रिला उर्जा प्रालिद्धारा प्रवद्धित कम्पनी हो ।
Visited 2 times, 1 visit(s) today


