एनआइसी एसिया ग्रोथ फन्ड २ को इकाईमा आजबाट आवेदन दिन पाइने
काठमाडौं । एनआइसी एसिया क्यापिटलले आज सोमबार मंसिर ४ गतेदेखि म्युचुअल फन्ड योजना बिक्रीमा ल्याएको छ । क्यापिटलले ‘एनआइसी एसिया ग्रोथ फन्ड २’ को कुल १० करोड इकाई बिक्री खुला गरेको हो ।
जसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५% विज पुँजीवापत कोष प्रवर्द्धक एनआइसी एसिया बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
यो बन्दमुखी योजना हो । यसमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा मंसिर १८ गतेसम्म खुला रहनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।
न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।