घरेलु उद्योग संघ काठमाडौं रजत वर्षमा प्रवेश, साना उद्योगहरूलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
काठमाडौं । घरेलु तथा साना उद्योग संघ, काठमाडौंले आइतबारदेखि आफ्नो स्थापनाको रजत वर्षमा प्रवेश गरेको छ।
रजत जयन्ती महोत्सव प्रवेश गरेको अवसरमा राजधानीमा आयोजित एक समारोहमा बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले मुलुक आर्थिक मन्दीको चपेटामा रहेका बेला लघु, घरेलु तथा साना उद्योगहरुलाई बचाउने सरकारको मुख्य दायित्व भएको बताए।
साना उद्योगहरूलाई प्रवर्द्धन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै उनले यस्ता उद्योगहरूलाई बचाएर मात्रै जनताको आयस्तर माथि उठाउन सकिने बताए।
साना उद्योगहरूलाई दिगो बनाउने कुरामा प्रदेश सरकारको प्राथमिकता रहेको भन्दै उनले बागमती प्रदेशका लघु, घरेलु तथा साना उद्योेगको प्रवर्द्धनमा आफू हरतरहले लाग्ने प्रतिबद्धता व्यक्त गरे।
लघु, घरेलु तथा साना उद्योगहरू बागमती प्रदेश सरकारको प्राथमिकतामा परेको क्षेत्रका रुपमा रहेको भन्दै उहाँले यो क्षेत्रलाई गर्नुपर्ने सहयोग पहिलो प्राथमिकतामा रहनेमा दुई मत नभएको बताए।
महासंघका निवर्तमान अध्यक्ष श्याम गिरीले अहिले उद्योग सञ्चालनको वातावरण राम्रो हुनुपर्नेमा तीन तहको सरकारले झनै अलमल भएको बताए।
महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले बैंकहरुले मन्दीलाई देखाएर लघु, घरेलु तथा साना उद्योेगमा लगानी गर्न छाडेको र सहुलियतपूर्ण कर्जा पनि हटाइदा जटिल अवस्था सिर्जना भएको बताए।
कार्यक्रममा महासंघका सल्लाहकार वासु गिरी, महासंघका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, महासचिव डम्बर रेग्मी, महासंघ बागमती प्रदेश संघका अध्यक्ष तारा चौलागाईं, नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारी, घरेलु उद्योग कार्यालय काठमाडौंका प्रमुख मेघनाथ रिजाल, काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठ, महासंघ केन्द्रीय महिला समिति अध्यक्ष रोशनी उपाध्याय, संघका उपाध्यक्ष इश्वर बहादुर गुरुङलगायतले बोलेका थिए।


