एसियन हाइड्रोपावरको आइपीओमा वैदेशिक रोजगारीमा गएकाले आजसम्म आवेदन दिन सक्ने |

काठमाडौं । एसियन हाइड्रोपावरको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज पुस १२ गतेसम्म आवेदन दिन सक्नेछन् । यता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आइपीओमा आवेदन दिने म्याद थप भएको छ । स्थानीय बासिन्दाले कम्पनीको आइपीओमा पुस १९ गतेसम्म आवेदन दिन सक्नेछन् । यस हाइड्रोपावरले मंसिर २७ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो ।
सर्वसाधारणमा निष्कासन हुने ८ लाख ४० हजार कित्तामध्ये १०% अर्थात ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको हो । यसमा मंगलबार कार्यालय समय भित्र आवेदन दिन सकिनेछ । यता, स्थानीयलाई १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख ४० हजार कित्ता सेयर निष्कासन गरेको छ ।
यसमा आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं १०, माई जोगमाई गाउँपालिका वडा नं ३ र ४ तथा सूर्योदय नगरपालिका वडा ११ का स्थानीय बासिन्दाहरुका लागि ४०% अर्थात १ लाख ३६ हजार कित्ता र आयोजना अति प्रभावित क्षेत्र बाहेकको ईलाम जिल्लाका अन्य क्षेत्रहरुमा बसोबास गर्ने बासिन्दाहरुका लागि बाँकी ६०% अर्थात २ लाख ४ हजार कित्ता सेयर छुट्याइएको छ ।
स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले एसियनलाई केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
यो आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । स्थानीय बासिन्दाले एनएमबि बैंक ईलाम शाखा, सिभिल बैंक माईजोगमाई शाखा, प्राइम कमर्सियल बैंक बिब्लाटे शाखा, ग्लोबल आइएमई बैंक सूर्योदय (फिक्कल) शाखा तथा बिक्री प्रबन्धले तोकेको बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । यता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।