पिपुल्स हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन |
काठमाडौं । पिपुल्स हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज कात्तिक २९ गते अन्तिम दिन हो । लगानीकर्ताले यसमा मंगलबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा १ अर्ब ९ करोड ६३ लाख १ हजार रुपैयाँ बराबरको आवेदन परिसकेको छ । सीडीएसका अनुसार कात्तिक २८ गते अपरान्ह ४ः०२ बजेसम्ममा ९ लाख १९ हजार १०४ जनाले १ करोड ९ लाख ६३ हजार १० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २.१२ गुणा बढी आवेदन हो ।
यसले कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ जारी गरेको हो । यसले आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्तासमेत गरी प्रतिकित्ता १०० अंकित मूल्यमा ५६ करोड ६ लाख ३९ हजार रुपैयाँ बराबरको आइपीओ निष्कासन गरेको हो ।
यो मध्ये ५% अर्थात् २ लाख ८० हजार ३२० कित्ता सामुहीक लगानी कोष र ३% अर्थात् १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ५१ लाख ५७ हजार ८८० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले पिपुल्सको आइपीओलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । केयर नेपालले जनवरी ६ २०२२ मा रेटिङ दिएको थियो । यो रेटिङ आगामी डिसेम्बर २०२२ सम्म बाहल रहनेछ ।



