बरुण हाइड्रोपावरको हकप्रदमा आवेदन दिन म्याद थप |
काठमाडौं । बरुण हाइड्रोपावर लिमिटेडले भदौ ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीले १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिने भएको छ।
यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद जारी गरेको हो।
हकप्रद निष्काशनका लागि कम्पनीले साउन २ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार साउन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।
कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। हकप्रदमा आरबिबि मर्चेन्ट बैंकिङ्ग र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन्।
क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बीप्लस आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ।
हाल २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुग्नेछ।


