बीमाको दायरा १३.६४ प्रतिशतले बढेर ४१.१५ प्रतिशत पुग्यो |
काठमाडौं । चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा बीमाको दायरा (म्यादी, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख सहित) करिब ४१.१५ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको तुलनामा बीमाको पहुँच १३.६४ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको साउन मसान्तसम्ममा बीमाको पहुँच २७.५७ प्रतिशत जनसंख्यामा पुगेको थियो ।
म्यादी, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख सहित पनि बीमाको पहुँच ३८.२६ प्रतिशत पुगेको बीमा समितिले जनाएको छ । गत आर्थिक वर्षका यस अवधिमा २५.५७ प्रतिशत मात्रै रहेको थियो ।
पछिल्लो समय म्यादी बीमालेखमा आकर्षण बढेपछि दायरा विस्तार थप सहयोग पुगेको बीमा समितिले जनाएको छ । जीवन बीमाको दायरामा प्रति व्यक्ति बीमालेख गणना गरिने भएकोले सामुहिक बीमालेखलाई प्रति व्यक्ति बीमालेखमा गणना गरिएकोले पनि दायरा विस्तार उल्लेख सुधार भएको समितिले जनाएको छ ।
चालु आर्थिक वर्षको साउन सम्ममा जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी र बैदेशिक रोजगार बीमाले सहित) १ करोड ३० लाख ८९ हजार ४८६ वटा बीमालेख जारी भएको समितिको तथ्यांक छ । यो गत आर्थिक वर्षको तुलनामा ५२.४३ प्रतिशतले धेरै हो ।
गत आर्थिक वर्षको यसै अवधिमा जीवन बीमा कम्पनीहरुले ८५ लाख ८७ हजार ४४ वटा बीमालेख जारी गरेका थिए ।
यस्तै बैदेशिक रोजगार बीमालेख संख्या पनि ५२.१९ प्रतिशतले बढेर ८ लाख ७८ हजार ७७१ वटा बीमालेख जारी भएका छन् । गत आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुले ५ लाख ७७ हजार ४१० वटा बैदेशिक रोजगार बीमालेख बिक्री गरेका थिए ।
निर्जीवन बीमा कम्पनीहरूको बीमालेख भने ८.३५ प्रतिशतले घटेर २ लाख २१ हजार ६४२ वटामा सीमित भएको छ । गत वर्षको यहि अवधीमा निर्जीवन बीमा कम्पनीहरुले २ लाख ४१ हजार ८३७ वटा बीमालेख जारी गरेका थिए ।
यस्तै जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क भने ०.३४ प्रतिशतले घटेर १९ अर्ब ५३ करोड २९ लाख रुपैयाँमा झरेको बीमा समितिको तथ्यांक छ । गत आर्थिक वर्षको यहि अवधिमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ६० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
यस अवधिमा बीमा कम्पनीहरुका ३ हजार ३६३ वटा शाखा कार्यालयहरुमा ११ हजार ८३० जना कर्मचारीहरु कार्यरत रहेका छन् ।


