६.६८ अंकले बढ्यो नेप्से, कारोबार रकम १ अर्बमा सीमित |
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ। पछिल्ला ३ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, यस दिन सामान्य अंक बढेको हो।
यस दिन नेप्से परिसूचक ६.६८ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.५७ अंक बढेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ०.४४ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक बढेको छ।
यस दिन नेप्से बढेपनि कारोबार रकम भने १ अर्बमा सीमित भएको छ। यस दिन २२७ स्टकको २५ हजार ३७ पटकको कारोबारमा १ अर्ब ७ करोड १६ लाख रुपैयाँ बराबरको २८ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आइतबार रु रु जलविद्युत परियोजनाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो स्टकको मूल्य ८९ रुपैयाँ ५० पैसा बढेर ९८४ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने जोशी हाइड्रोपावरको ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन शेयरमूल्य घटेका स्टकहरुको गिरावटदर भने कम रहेको छ। कारोबारमा आएको सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य यस दिन करिब ३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन रिडी पावर शीर्ष स्थानमा रहेको छ। सो स्टकको यस दिन ८ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन नेपाल टेलिकम र नबिल बैंकको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.८५ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएका होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक यस दिन घटेको हो।


