धरानमा ‘लौरो’ चुनाव चिन्हका हर्कराज मेयरमा विजयी |
काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएका छन् । काठमाडौंमा ‘लौरो’ चुनाव चिन्हधारी बालेन शाहले तहल्का मच्चाइरहेका बेला उनले सोही चुनाव चिन्हबाट धरानमा मेयर पदमा विजयी भएका हुन ।
उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७६२को फराकिलो मतान्तरले पराजित गरेका हुन ।
राईले २० हजार ८२१ मत पाए भने दोस्रो स्थानमा रहेका किशोर राईले १६ हजार ५९ र तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत पाइन् । धरानमा विभिन्न सामाजिक विषय उठाएर आन्दोलन गर्दै आएका ३९ वर्षीया राईको चुनाव प्रचार प्रसारमा खासै मान्छे लागेको देखिएको थिएन ।
उपमेयरमा भने नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघा निर्वाचित भएका छन् । २० हजार ५१० मत ल्याएर बेघा निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पदमप्रसाद लिम्बुले १७ हजार ६०६ मत मात्र पाए ।


