हिमालय एयरलाइन्सद्वारा शैक्षिक सामग्री सहयोग |
काठमाडौं । हिमालय एअरलाइन्सले प्रयास नेपालका बालबालिकालाई वर्षभरीका लागि पुग्ने शैक्षिक सामाग्री सहयोग गरेको छ। नयाँ शैक्षिक सत्रको प्रारम्भसँगै आवश्यकताअनुसार सो सहयोग प्रदान गरिएको हो । एयरलाइन्सले विगत ६ वर्षदेखि यो सहयोग गर्दै आएको छ ।
सन् २०२२ को मे १ मा आफ्नो स्थापनाको १९ औं वर्षमा प्रवेश गरेको प्रयास नेपालले विभिन्न सशक्तीकरण कार्यक्रमहरू मार्फत धेरैको जीवनमा सकारात्मक प्रभाव छोडेको छ। हाल प्रयास नेपालले २६ जना कलिला र जोसिला बालबालिकाको रेखदेख गरिरहेको छ। बालबालिकामा उड्डयन उद्योग, पेशा र व्यावसायिक पाठ्यक्रमहरू आदि बारे चेतना जगाउने उद्देश्यका साथ यस वर्ष हिमालयले बालबालिकाका लागि अनुभव आदानप्रदान गर्न एक विशेष शैक्षिक सत्रको आयोजना गरेको थियो ।
यसक्रममा हिमालय एअरलाइन्सका जहाजका अनुभवी चालकदलले बालबालिकासँग अन्तरक्रिया गरेका थिए । उक्त सत्रको उद्देश्य यी बालबालिकाहरूमा उड्डयन उद्योगबारे ज्ञानको दायरा बढाउनुका साथै नेपालको उड्डयन क्षेत्रमा रहेका विभिन्न पाठ्यक्रम र पेसाका अवसरहरू बारे जानकारी गराउने थियो । कार्यक्रममा बालबालिकाहरूले गहिरो चासो र उत्साहका साथ सहभागिता जनाएका थिए।
शैक्षिक सामाग्रीमा विभिन्न कक्षाका लागि शैक्षिक पाठ्यक्रमका पुस्तक, नोटबुक, रजिष्टर र क्यालकुलेटर, ज्यामिति बक्स, कलमलगायत स्टेशनरी सामाग्रीहरु समेटिएका थिए । एअरलाइन्सको तर्फबाट शैक्षिक सामाग्री हस्तान्तरण गर्दै ब्रान्ड विभाग प्रमुख ज्वाला दलीले भनिन् , ‘हाम्रा प्रमुख संस्थागत सामाजिक उत्तरदायित्वमध्ये समाज सेवा पनि एक हो । प्रयास नेपालसँगको हाम्रो छ वर्ष लामो सहकार्यले हाम्रो उत्तरदायित्व पुष्टि गरेको छ । यो विशेष सहकार्य हरेक वर्ष अझ बलियो बन्दै गएको छ। प्रयास नेपालको १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा हामी प्रयास नेपालका सम्पूर्ण टोली र बालबालिकाहरूलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं। विशेषत, हामी अत्यन्तै खुशी छौं किनभने हामीले यस वर्ष युवा पुस्तालाई प्रेरित गर्ने र उनीहरूको भविष्य निर्माणका निम्ति असीमित सम्भावनाहरू खोज्न मद्दत गर्ने उद्देश्यका साथ हाम्रा नियमित सहयोग वाहेक आफ्ना ज्ञान र सीपहरु आदान प्रदान गर्ने शैक्षिक कार्यक्रमको आयोजना गर्ने प्रयास गर्न पायौं ।’
सहयोग हस्तान्तरणको क्रममा प्रयास नेपालकी अध्यक्ष मणी जोशीले आवश्यक शैक्षिक सामाग्री उपलब्ध गराएकोमा कृतज्ञता व्यक्त गरिन् ।


