चेम्वर र वीरगञ्ज उवा संघका पदाधिकारी तथा कार्य समिति सदस्य बीच अन्तरक्रिया कार्यक्रम |
काठमाडौं । चेम्वर र वीरगञ्ज उधोग वाणिज्य संघका पदाधिकारी तथा कार्य समिति सदस्य बीच सोमबार काठमाण्डौंमा अर्थतन्त्र र ब्याजदरका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुसँगको चेम्वर भवनमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भने, “हाल मुलुकमा तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिएको छ ।
व्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा ह्रास आएको सन्दर्भमा समस्त निजी क्षेत्र साझा अवधारणा लिएर अगाडि बढ्नुपर्छ । साथै कृषिलाइ निजी क्षेत्रले उद्यमको रुपमा प्राथमिकतामा राख्नुपर्छ ।”
अध्यक्ष मल्लले वीरगञ्ज उद्योग वाणिज्य संघ पनि नेपाल चेम्बर अफ कमर्स जस्तै पुरानो संस्था भएको बताउँदै ब्यावसायीका हक हितका विषयमा ऐक्यबद्धता हुन आवश्यक रहेको बताए । देशको बिग्रदो अर्थतन्त्रलाइ सुधार्न सामयीक सुधारका सुझाव सहित वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु कठमाण्डौंसम्म आएकोमा खुशी व्यक्त गरे ।
वीरगञ्ज प्रमूख औद्योगिक नगर भएकोले निर्यात गृहको अवधारणामा निर्यात प्रवद्र्धनको लागि अग्रसर हुनुपर्ने बताउँदै यसमा नेपाल चेम्वर अफ कमर्स सहकार्य गर्न तयार रहेको बताए । बढ्दो व्यापार घाटालाइ पूर्ति गर्न कृषिको उत्पादकत्वमा जोड दिनुपर्ने र यसको लागि कृषि क्षेत्रको व्यावसायीकरण तथा उत्पादकत्वमा वृद्धि गर्न जिल्ला स्थित उद्योग वाणिज्य संघको पनि भूमिका महत्वपूर्ण रहेको बताए ।
उक्त अवसरमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ताले व्यावसायीहरु जुनसुकै क्षेत्रका भएपनि चुनौतिहरु साझा रहेको बताए । अध्यक्ष गुप्ताले सामाजिक सुरक्षा र श्रम नीतिले ब्यावसायीहरु मारमा परेको बताए ।
मजदुरहरुको मात्र भलाई हेरिँदा ब्यवसाय बन्द हुने अवस्थामा पुगेको, चिसीटिएस प्रभावकारी कार्यान्वयन हुन नसकिरहेको र त्यसले साना ब्यावसायी मारमा परेका बताए ।
नेपालको पारवहनको लागि भारतका सबै बन्दरगाहहरुबाट नेपालमा माल सामान ल्याउन खुला हुन आवश्यक रहेको उनको भनाई छ । पर्यटन क्षेत्रमा भारतीय पर्यटकको ठूलो योगदान छ तर भारतीय पर्यटकहरु नेपाल आगमनमा वृद्धि गर्न भारु २५ हजार मात्र बोक्न पाउने, भारतीय ठूला नोटहरु नचल्ने, डेविट क्रेडिट कार्ड भर पर्दो नरहेको कारणले असहज रहेको उनको भनाइ छ ।
उक्त अवसरमा नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठ तथा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधव राजपाल उपाध्यक्ष हरी गौतम, महासचिव मनोज कुमार दास, सहकोषाध्यक्ष प्रेमचन्द गोयल लगायतको उपस्थिति रहेको थियो ।


