यातायात विभागले बन्द गर्यो अनलाइन लाइसेन्स आवेदन |
काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी अनुमति पत्रको लागि नयाँ अनलाइन आवेदन बन्द गरेको छ । विभागले सोमबार एक सूचना जारी गर्दै अनलाइन आवेदन अनिश्चित कालको लागि बन्द गरेको हो ।
विभागका अनुसार पुराना आवेदकको ट्रायल परिक्षा सकाउने भन्दै यातायात विभागले नयाँ अनलाइन आवेदन बन्द गरेको जनाएको हो ।
विभागको सूचनामा भनिएको छ ‘हालसम्म परेका अनलाईन आवेदनहरुको कारवाही यथाशक्य चाँडो टुङ्ग्याउनुपर्ने भएकोले यही मिति २०७८ चैत्र १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मको लागि सवारी चालक अनुमति पत्रको अनलाईन आवेदन प्रणाली बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’ ।
यातायात विभागका निर्देशक लोकनाथ भुसालले पुराना आवेदकको ट्रायल परिक्षा जतिसक्दो छिटो गर्नुपर्ने भएकाले र आवेदकको पाले २०२५ सम्म पुगेकाले सबै सकेरमात्रै पुनः लाइसेन्स आवेदन खोल्ने तयारी भएको जानकारी दिए ।
विभागका एक अधिकारीले लाइसेन्स ट्रालय परिक्षाको चाप धेरै रहेकाले नयाँ अनलाइन आवेदन खुल्न केहि समय लाग्ने बताए । उनका अनुसार बैशाखबाट नयाँ सिस्टम सार्वजनिक गर्ने तयारी छ ।


