उपभोक्ताको राहतका लागि करमा कटौती गर्न उद्योग संगठन मोरङको आग्रह |
विराटनगर । उद्योग संगठन मोरङले अन्तर्राष्ट्रिय क्षेत्रबाट आयात हुने कच्चा पदार्थको मूल्य आकासिएको भन्दै उपभोक्तालाई राहत दिन करमा कटौती गर्न सरकारलाई आग्रह गरेको छ । संगठनले एक विज्ञप्ती जारी गरि उपभोक्तालाई राहत दिन करमा कटौती लागी सरकारसमक्ष अनुरोध गरेको हो।
विगत केही समययता अन्तर्राष्ट्रिय बजारमा उकालो लागिरहेको पेट्रोलियम पदार्थको मूल्य, रुस र युक्रेन बीच जारी युद्धका साथै डलरको बढ्दो विनियम दरका कारण खानेतेल, उपभोग्य वस्तु, खाद्यसामग्री, निर्माण सामाग्री लगायतको अन्य वस्तुको मूल्य निरन्तर उकालो लागिरहेको छ ।
खाने तेल उत्पादन गर्ने उद्योगहरुको मुख्य कच्चा पदार्थका रुपमा रहेको क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल, क्रुड पाम आयल र तोरीको दाना ब्राजिल, अर्जेन्टिना, क्यानाडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुबाट यसअघि जनवरी २०२२ मा अमेरिकन डलर १५२५ मा प्रति मेट्रिक टनमा आयात भइरहेकोमा हाल आएर अमेरिकन डलर २१२५ सम्म खर्च गर्नुपरिरहेको संगठनले जनाएको छ ।
इन्धनमा भइरहेको मूल्य बृद्धिले तेश्रो मुलुक देखि उद्योग परिसरसम्मको ढुवानी भाडाका साथै बढ्दो बैंक व्याज दरले उद्योगहरुको वस्तु उत्पादन लागत निरन्तर बृद्धि भइरहेको छ ।
देशका अधिकांश स्वदेशी उद्योगहरु विदेशी कच्चा पदार्थ निर्भर रहेकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा उतार चढाव आउदा त्यसको प्रत्यक्ष प्रभाव स्वदेशी उद्योगको उत्पादनमा पर्ने गरेको छन ।
कच्चा पदार्थको आयातमा बढ्दो लजिष्टिक कष्ट, व्याजदरमा भइरहेको बृद्धि, चालु पूँजीको अभावबाट उत्पादनमूलक उद्योगहरुमा सिर्जित समस्या र हरेक क्षेत्रलाई महँगीले पिरोलेको समयमा केवल एक क्षेत्रलाई मात्र दोषारोपण गर्नु न्यायसंगत देखिदैन ।
अन्तर्राष्ट्रिय अभ्यासहरूमा बजारमा वस्तुको मूल्य बृद्धि भएको अवस्थामा आम उपभोक्तालाई राहत दिन सरकारले कच्चा पदार्थ लगायत उत्पादनको क्रममा प्रयोग हुने वस्तुमा लगाउदै आएको करमा कटौति गरी आम उपभोक्तालाई राहत दिने प्रचलन भएकाले विश्वको हालको बदलिँदो परिस्थितीलाई मध्यनजर गरी स्थिती सहज नहुन्जेलसम्म सोही अनुरुपको अभ्यासलाई कार्यान्वयनमा ल्याउनु पर्ने संगठनले जनाएको छ ।
वर्तमान असहज अवस्था, विभिन्न कठिनाई र विदेशी वस्तुका साथ प्रतिष्पर्धामा बावजुद स्वदेशी बजारको आवश्यकता पूर्ति गर्ने भावका साथ उत्पादनलाई निरन्तरता दिई आपूर्ति श्रृंखलालाई सन्तुलनमा राख्न सहयोग पुर्याउँदै आएका उद्योग व्यवसायका साथै आम उपभोक्तालाई समेत राहत दिने नीति तत्काल अवलम्वन गर्न उद्योग संगठन मोरङ नेपाल सरकार समक्ष संगठनले अनुरोध गरेको छ ।


