आन्तरिक पर्यटन प्रवर्द्धनका लागि गण्डकी र मधेस प्रदेशबीच छलफल |
काठमाडौं । गण्डकी र मधेस प्रदेशका मुख्यमन्त्रीबीच आन्तरिक पर्यटन प्रवर्द्धनका लागि छलफल भएको छ । छलफलमा गण्डकी र मधेस प्रदेशका बीचमा धेरै समानता र सहकार्यको सम्भावना रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।
प्रदेशको समृद्धि र जनताको सुखका लागि दुई प्रदेशबीच सहकार्य अति आवश्यक रहेको पोखरेलको धारणा छ ।
गण्डकी प्रदेशमा आएका पर्यटकलाई मधेस प्रदेश र मधेसमा आएका पर्यटकलाई गण्डकी प्रदेशमा जानका लागि अभिप्रेरित गर्ने कार्य निजी क्षेत्रको अगुवाईमा अगाडि बढाउन सकिने उनको भनाई छ ।
जल पर्यटन, कृषि पर्यटन, शिक्षा र स्वास्थ्य पर्यटनमा पनि सहकार्य गर्न सकिने पोखरेलले बताए । आपसी हितका वृहत परियोजनाहरु जानकी, लुम्बिनी, मुक्तिनाथ र पोखरा जोडने सर्किट विकास गर्न सकिने भन्दै मुख्यमन्त्री पोखरेलले हवाई उडानलाई नियमित बनाउने र यसको क्षमता बढाउन सक्ने सम्भावना पनि रहेको बताए ।


