बारा–पर्सा औद्योगिक करिडोरमा १३२ केभी लाइनबाट बिजुली आपूर्ति |
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरुलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत आपूर्ति लिन आह्वान गरेको छ । उत्पादित विद्युत मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालनको तयारीमा रहेका, भविश्यमा खुल्ने र थप विद्युत माग गर्ने उद्योगहरुलाई १३२ केभीबाट विद्युत आपूर्ति दिने छ । प्राधिकरणले १३२ केभी लाइनबाट विद्युत आपूर्ति सुरु गरिसकेको छ ।
त्यस क्षेत्रका उद्योगहरुले अहिले ११ र ६६ केभी लाइनबाट विद्युत आपूर्ति लिइरहेका छन् । १३२ केभीबाट विद्युत आपूर्ति लिएमा त्यसको महसुल सस्तो छ । उद्योगहरुले आफ्नो परिसरमा सबस्टेसन भने आफैंले निर्माण गर्नु पर्ने छ । महसुल सस्तो पर्ने र चुहावट पनि कम हुने भएकोले त्यसको तुलनामा सबस्टेसन निर्माण महंगो पर्दैन ।
प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा ५ वर्षभित्रमा २ हजार मेगावाट विद्युत खपत हुने गरी पूर्वाधार बनाउन बनाउन पहल सुरु गरेको छ । बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका क्षेत्रमा हाल सञ्चालमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको हो ।
हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन अन्तर्गत बाराको निजगढमा ४०० केभी सबस्टेसन निर्माण गरी उक्त लाइनलाई वीरगञ्ज हुँदै पोखरियामा पुर्याइने छ । बाराको पिलुवा र अमलेखगञ्ज सबस्टेसनको तत्काल सुदृढीकरण तथा स्तरोन्नति गरिने प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उल्लेख गरेका छन् ।
सिमरा र वीरगञ्ज क्षेत्रका उद्योगहरुको विद्युत आपूर्तिलाई विश्वसनीय बनाउन हेटौंडा–परवानीपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार तथा सुदृढीकरणका लागि नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली बढी क्षमताको राख्ने काम भएको छ ।


