तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्सपो चैत १८ गतेदेखि, बजार प्रबद्धन र खपत बढाउन केन्द्रीत हुने |
काठमाडौं । आगामी चैत १८ गतेदेखि तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्सपो २०२२ सुरु हुने भएको छ। यसअघि हिमालयन हाइड्रोको दुई संस्करण सकिसकेकोमा चैत १८ गतेदेखि २० गतेसम्म भृकुटिमण्डपमा तेस्रो संस्करण सुरु हुन लागेको हो।
यो एक्सपो स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इपान र एक्सपो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा आयोजना गरेका हुन्। यस एक्सपोमा भारतीय राजदुतावासको समन्वय तथा बेलायती राजदुताबास र क्यानडियन हाइ कमिशन कन्ट्रि पार्टन रहने छन्।
यसबाट नेपालको जलविद्युतको बजार र व्यापार विस्तारका साथै भारतीय लगानीमा सहकार्यमा थप सहयोग पुग्ने इपाने जनाएको छ।
हाइड्रो सम्बन्धी अन्तराष्ट्रिय स्तरको विकसित पछिल्ला प्रविधिका बारेमा जानकारी गराउन, नेपालको जलविद्युतको लागि बजार प्रबद्धन गर्न देशभित्र विद्युत खपत बढाउने, विद्युत ब्यापारको प्रवर्दन गर्ने, हाइड्रोपावर सम्बन्धी सरोकार राख्नेहरुलाई एकै छानामुनी भेला पारी यस सम्बन्धी ज्ञान सिप तथा प्रविधिको जानकारी दिन तथा विभिन्न मुलुकसँग हाइड्रो हाइड्रोपावर परियोजना विकास सम्बन्धमा छलफल गर्ने उद्देश्यले यो एक्सपोको आयोजना गरिएको हो।
यसले नेपालको उर्जा उत्पादनको बर्तमान अवस्थालाई थप तीब्रता दिन सहयोग गर्ने, सरकाले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको राष्ट्रिय लक्ष्यलाई महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
तीन दिनसम्म चल्ने यो एक्सपोमा १०० भन्दा बढी स्टल रहने छन्। जलविद्युत प्रबद्धक, उत्पादक, इक्वीपमेन्ट सप्लायर्स, टर्वाइन उत्पादक, लगानीकर्ता, बैंक, बीमा लगायतको जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धी विविध स्टल यस एक्सपोमा रहने छन्। यसमा ५० प्रतिशत स्वदेशी र ५० प्रतिशत विदेशी स्टल रहने अनुमान गरिएको छ।
विद्युतको खपत बढाउने तथा विद्युतीय सवारीसाधनको प्रयोगमा अभिबृद्धि गर्ने हेतुले नेपालको पहिलो पटक फर्पिङ जलविद्युत आयोजनादेखि एक्सपो आयोजना स्थल भृकुटिमण्डपसम्म विद्युतीय गाडीको र्याली गरिने छ। यसै अवसरमा विद्युतीय चार्जिङ स्टेसनको समेत उद्घाटन गरिने भएको छ।
यस एक्सपोमा ५० हजार बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ।


