सोमबार तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ |
काठमाडौं । सुनको मूल्यमा अस्थिरता कायम रहेको छ । अघिल्लो दुई कारोबार दिन घटेको सुनको मूल्य सोमबार फेरि महंगिएको छ । फागुन १६ गते, सुन तोलामा एक हजार ६०० रुपैयाँले वृद्धि भएको छ । चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले बढोत्तरी भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँ पुगेको छ ।
आइतबार भने सुन तोलामा एक हजार ४०० रुपैयाँले गिरावट भएको थियो । सो दिन सुन प्रतितोला ९६ हजार ६०० रुपैयाँमा झरेको थियो । दुई कारोबार दिन सुनको मूल्य लगातार घट्दा तोलामा दुई हजार ४०० रुपैयाँले गिरावट भएको महासंघको तथ्यांकमा देखिन्छ । अघिल्लो साताको बिहीबार सुन एक लाख रुपैयाँ नजिक पुगेको थियो ।
यसैगरी सोमबार चाँदीको भाउ पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ३४० रुपैयाँमा खरिदबिक्री हुँदैछ । साताको पहिलो कारोबार दिन चाँदी तोलामा नै ४० रुपैयाँले गिरावट भएको थियो । त्यस दिन चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँ तोकिएको थियो । शुक्रबार र आइतबार चाँदीको भाउ तोलामा नै ६० रुपैयाँले घटेको थियो ।
रसिया र युक्रेनकाे युद्धका कारण सुनको भाउमा तिव्र उतारचढाव देखिएको छ । हाल विश्व बजारमा पनि सुनकाे मूल्यमा घटबढ जारी छ । अन्तराष्ट्रिय सुन बजार अनुसार नै नेपालमा सुनकाे मूल्य निर्धारण हुने भएकाले यस बजारमा पनि असर देखिएकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यका अनुसार रसियाले युक्रेनलाई गरिरहेको आक्रमण गरिहँदा विश्वका अन्य देशहरुले रोक्न खोजिरहेको अवस्थामा लगानीकर्ताहरु अस्थिर रहेका छन् ।


