शिक्षामन्त्री र स्वीस राजदूतबीच भेटवार्ता |
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरसँग भेटवार्ता भएको छ।
मन्त्री पौडेल र राजदूत क्यापलबीच भएको शिष्टाचार भेटवार्तामा नेपालको शिक्षा, गरिबी न्यूनीकरण र ग्रामीण विकासका बारेमा छलफल भएको शिक्षा मन्त्रीको सचिवालयले जनाएको छ।
राजदूतसँगको भेटमा मन्त्री पौडेलले प्राविधिक शिक्षाको विस्तार, स्तरोन्नति र सवलीकरणको लागि सहयोग गर्न स्वीस सरकारलाई आग्रह गरेका छन्।
स्वीस सरकारले जिरी र बालाजुमा प्राविधिक शिक्षालयको स्थापना, प्राविधिक तथा व्यावसायिक शिक्षामा प्रशिक्षकहरूका लागि तालिम दिने संस्था टिआइटिआइको स्थापना, रोजगार कोष परियोजना, व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाका लागि प्राविधिक सहयोग गर्दै आएको छ।
त्यसैगरी इन्स्योर परियोजनामार्फत एप्रेन्टिसीप कार्यक्रमको थालनी, विद्यावारिधि र उच्च विद्यावारिधि गर्न स्वीस सरकारको एक्सेलेन्स छात्रवृत्ति, राष्ट्रिय योग्यता पद्धति सबलीकरण परियोजना लगायतमा क्षेत्रमा पनि स्वीस सरकारले नेपालाई सहयोग गर्दै आएको छ।
भेटमा राजदूत क्यापलरलले स्वीस सरकारले गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन्।


