लुम्बिनीका थप पाँच स्थानमा एभरेष्ट बैंकका शाखा |
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लुम्बिनीका थप पाँच स्थानमा नयाँ शाखा उद्घाटन गरेको छ । फागुन १ गते खैरेनी, योगिकुटी र मणिग्राम तथा फागुन २ गते जीतपुर र मुर्गियामा नयाँ शाखा उद्घाटन गरेको बैंकले जानकारी दिएको छ ।
ती शाखाहरूको उद्घाटन एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ र सम्बन्धित वडाका वडाध्यक्षहरूले संयुक्त रूपमा गरेका हुन् । उद्घाटन समारोहमा एभरेष्ट बैंक लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक अनिलकुमार कार्की, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायत उपस्थित थिए । शाखा उद्घाटन समारोहमा सीईओ खालिङले लुम्बिनी प्रदेशका बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरे ।
बैंकले ग्राहकसंख्या १२ लाख पुगेको, देशभर ११० शाखा सञ्जाल विस्तार गरेको, प्रादेशिक कार्यालय, १४३ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एटीएम बैकिंग सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।


