महिला औद्योगिक पार्क स्थापनाका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र |
काठमाडौं । दक्षिण एसियाली महिला विकास मञ्चले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेपालमा महिला औद्योगिक पार्क स्थापना गरी महिला उद्यमशीलतालाई बढावा दिनको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
दक्षिण एसियाली महिला विकास मञ्च अध्यक्ष प्रमिला आचार्य रिजाल, नेपाल महिला उद्यमी महासंघ वरिष्ठ उपाध्यक्ष शोभा ज्ञवाली, महिला उद्यमी विकास समिति सभापति रीता सिम्हा, महिला उद्यमी मञ्च संयोजक श्रीमती छाया शर्मा र महिला उद्यमी हरित औद्योगिक पार्क समिति सभापति श्रीमती शारदा रिजाल सम्मिलित प्रतिनिधिमण्डलले प्रधानमन्त्री तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री कार्यालय बालुवाटारमा भेटवार्ता गरेको छ ।
मञ्च अध्यक्ष आचार्य रिजालले नेपालमा महिला औद्योगिक पार्क स्थापना गरी महिला उद्यमशीलतालाई बढावा दिने साझा लक्ष्यसहितको संयुक्त ज्ञापनपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरेकी हुन् । सरकारले ७७ वटै जिल्लामा औद्योगिक ग्राम स्थापना गर्ने व्यवस्था गरेको छ । औद्योगिक ग्राम घोषणा तथा सन्चालन सम्बन्धी कार्यविधि, २०७५ दफा ८.१ मा महिला उद्यमी बिशेष औद्योगिक ग्रामको प्रावधान अनुसार, 'महिला उद्यमीलाइ उद्योगतर्फ़ आकर्षित र प्रोत्साहन गर्न महिला उद्यमीले मात्र उद्योग स्थापना गर्न पाउने गरी नेपाल सरकारले यस कार्यविधिको प्रावधान अनुरुप महिला उद्यमी बिशेष औद्योगिक ग्राम घोषणा गर्न सक्नेछ' भने पनि अहिलेसम्म घोषणा गरेको छैन् ।
दक्षिण एसियाली महिला विकास मञ्च, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकासँगको (पीपीपी मोडल), सहकार्यमा नेपालमा हरित औद्योगिक अवधारणालाई एकीकृत रूपमा जलवायु परिवर्तन अनुकूलन उपायहरू प्रवर्द्धन गर्न प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क स्थापना भइरहेको छ। यसलाई कृषि पर्यटन पार्कको रूपमा प्रवर्द्धन गरिनेछ।
सेवा क्षेत्रलाई पर्यटनमा केन्द्रित गरी कृषि खाद्य क्षेत्रसँग सम्बन्धित ५०-६० साना उद्योग स्थापना गरिने उदेश्य रहेको छ । आयोजनाको गुरुयोजना र विस्तृत परियोजना प्रतिवेदन सम्पन्न भइसकेको छ । यस कृषि पर्यटन पार्कले लैङ्गिक समानता र महिला आर्थिक समावेशीकरणलाई समर्थन गर्ने नेपालको संविधान २०७२ को दायरा भित्र छ । परियोजनाले स्थानीय रूपमा दिगो विकास लक्ष्य (एसडीजीएस) र नेपालको राष्ट्रिय निर्धारित योगदान (एनडीसी) मा योगदान पुर्याउँछ ।
महिला उद्यमी संघरपरिषद र समितिका प्रतिनिधिहरुले नेपाल सरकारलाई यो प्रथम महिला उद्यमी हरित औद्योगिक पार्कको घोषणा गर्न र यस आयोजनाको सफल कार्यान्वयनक लागि बजेट विनियोजन गर्न अनुरोध गरेका छन् । यसका साथै प्रतिनिधिमण्डलले बाँकी ६ वटै प्रदेशमा हरित महिला उद्यमशील औद्योगिक पार्क घोषणा गर्न अनुरोध गरेको छ ।


