कुर्था–जनकपुर–जयनगर रेल आजदेखि चलाइदै |
धनुषा । धनुषाको इनर्वा स्टेशनमा थन्काएर राखिएको नेपाली रेल आजदेखि सञ्चालन हुँदैछ । भारतको जयनगर हुँदै जनकपुरधाम–कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर नै फर्किनेछ । रेल गुड्ने भए पनि यात्रुलाई बोक्ने योजना नरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनको हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए ।
कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीले अर्थ मन्त्रालयबाट बीस करोड रुपियाँ ऋण लिएको महाप्रबन्धक झाले जानकारी दिए । पाँच प्रतिशत ब्याजदरमा दस वर्षभित्र चुक्ता गर्ने गरी सो ऋण लिइएको उनले बताए । सोही रकमबाट नै कर्मचारीको तलब सुविधा लगायतको खर्च गरिनेछ ।
थन्किएको रेल फागुनको दोस्रो साता विधिवत रुपमा उद्घाटन गर्ने तयारी भएको छ । यस सम्बन्धमा छलफल चलिरहेको र नेपाल तथा भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा भर्चुअल माध्यमले रेलको उद्घाटन गर्ने महाप्रबन्धक झाले बताए ।
रेल संचालनका लागि विभागले ५९ जना कर्मचारीलाई दैनिक ज्यालादारीमा नियुक्त गरेको छ भने भारतबाट २६ जना कर्मचारीलाई बोलाइएको छ । यसमध्ये १२ जना आइपुगेको र संचालन भएपछि १२ जना आउने विभागले जनाएको छ ।
रेल संचालनका लागि तीन जना स्टेशन मास्टर, १० जदा टिकट सेलर, २ जना टिटीलाई नियुक्त गरिएको छ । यसमध्ये टिकट सेलर अधिकांश महिला रहेको महाप्रबन्धक झाले बताए ।
कुर्था–जयनगर खण्डको रेल सञ्चालनका लागि लिक तयार भएको तीन वर्षपछि बल्ल रेल सञ्चालनका लागि तयार भएको हो । २०७७ साल असोज २ गते भारतबाट ८४ करोड ६५ लाखमा खरिद गरिएका दुई सेट रेल जयनगरबाट जनकपुर ल्याएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।
लामो कसरत पछि अब भने जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालन हुने पक्का भएको हो । गत पुस २३ गते शनिबार नेपाल रेल्वे कम्पनीका पदाधिकारी र भारतीय रेल्वे कम्पनी कोंकणका प्राविधिकले बर्दिबास–जयनगर रेल्वे बिस्तार परियोजनाको जयनगर–कुर्था खण्डमा रेल चलाएर लिक परीक्षण गरेका थिए ।
आउँदो फागुनको १ गते आजदेखि एक हप्तासम्म ‘ड्राइ रन’ गराएर प्राविधिक समस्याबारे एकिन गरेर रेल सञ्चालन ल्याइने रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।
साथै उनले एक हप्तासम्म प्रत्येक दिन एक पटक जयनगर–कुर्था रेल गुडाइनेसमेत बताए । महाप्रबन्धक झाले भने, ‘एक हप्तासम्म यात्रु बिना नै हामीले परिक्षण गर्ने तयारी गरेका छौं । त्यस अवधिमा दैनिक एक पटक रेल सञ्चालन गर्छौ ।’


