बडिमालिका क्षेत्रको प्रवद्र्धनका लागि हेलिटुर आयोजना गरिने |
काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सुदुरपश्चिमको बडिमालिका क्षेत्रको प्रवद्र्धनका लागि हेलिटुर आयोजना गरिने भएको छ । फागुन १ गतेबाट १० दिनका लागि पहिलो चरणमा विभिन्न प्याकेज सहित सो टुरको आयोजना गरिने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टन्स (नाटा) सुदुरपश्चिम प्रदेशले शुक्रवार पर्यटन बोर्डमा आयोजना गरेको कार्यक्रमा जानकारी दिएको छ ।
बोर्डसँगै सुदुरपश्चिम प्रदेश सरकार र खप्तड राष्ट्रिय निकुञ्ज प्रवद्र्धक तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टन्स (नाटा ) सुदुरपश्चिम प्रदेश, माण्टेन हेलिकोप्ट प्रा.लि,नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेश र होटल व्यवसायी महासंघ सुदुरपश्चिम प्रदेशको सहकार्यमा आयोजना गरिने प्याकेजमा दिपायल खप्तड दिपायल, झिग्राना खप्तड झिग्राना, धनगढी र महेन्द्रनगर देखि झिग्राना, दिपायल बडिमालिका दिपायल, दिपायल खप्तड बडिमालिका र साफेबगर बडिमालिका साफेबगर लगायत स्थानबाट सो क्षेत्रको अवलोक गर्न जान सकिने व्यवस्था मिलाइएको छ । यात्रुहरुलाई स्थानको हिसाबले १२ हजार देखि ४० हजारसम्मका प्याकेजहरु उपलब्ध गराइने आयोजकले जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाहले आर्थिक विकासको लागि आन्तरिक पर्यटनलाई चलायमान बनाउन आवश्यक रहेको भन्दै कोरानाले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन यो कार्यक्रम सहयोगी हुने बताउनु भयो । बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले सुदुरपश्चिम प्रदेश भारतका विभिन्न शहरसँग जोडिएकोले यो कार्यक्रममा भारतीय पर्यटकलाई समेत ल्याउन सकिने बताउनु भयो । उहाँले सुदुरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धनका लागि बोर्डले सो क्षेत्रमा मार्टको आयोजना गर्ने समेत जानकारी दिए ।
नाटाका केन्द्रीय अध्यक्ष अच्युत गुराँगाईले सुदुरपश्चिम प्रदेश पर्यटनका लागि ‘भर्जिन ल्याण्ड’ भएको उल्लेख गर्दै यो कार्यक्रमले सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणा राखे । यस्तै नाटा सुदुरपश्चिम प्रदेशका सल्लाहकार नरेन्द्रदेव भट्टले सुदुरपश्चिम प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेकोले आर्थिक विकासका लागि त्यसको प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । माउण्टेन हेलिकोप्टरका महाप्रबन्धक डील बहादुर ओलीले नाफा भन्दा पनि सो क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि लागत मुल्यमै कम्पनीले टुर प्याकेज ल्याएको जानकारी दिए ।
नाटाका सुदुरपश्चिम प्रदेशका अध्यक्ष मायाँ प्रकाश भट्टले सुदुरपश्चिम प्रदेशकै प्रमुख पर्यटकिय गन्तव्य खप्तड बडिमालिका लगायतका स्थलमा अहिले हिउले सेत्याम्म रहेकाले उक्त क्षेत्रको भ्रमण गर्ने चाहाना भएका तर समय अभावका कारण जान नसक्ने पर्यटकहरुका लागि यो कार्यक्रम फलदायी हुने बताए । नाटाको सचिव शिवहरी पाण्डले दश दिनको अवधिमा कम्तिमा पनि ३५० जना आन्तरिक पर्यटकलाई खप्तड र बडिमालिका भ्रमण अबलोकन गराउने लक्ष्य लिएको जानकारी दिए ।


