जेएमके वुमन इन बिजनेस छात्रवृत्तिबाट रुबी शाह सम्मानित |
काठमाडौं । बाराकी रुबी शाहलाई १० हजार डलर बराबरको जोन्टा इन्टरनेशनल २०२१ जेनएम क्लाउजम्यान (जेएमके) वुमन इन बिजनेस छात्रवृत्तिबाट सम्मानित गरिएको छ । उनलाई जोन्टा क्लब अफ काठमाडौं–२५, क्षेत्र २ बाट मनोनयन गरिएको थियो ।
पुरस्कारको लागि आवेदन जोन्टा इन्टरनेशनल डिस्ट्रिक्ट छनोटमा पठाइएको थियो जहाँ उनले थप २००० डलर पनि प्राप्त गरिन् । उनीसँगै अरु ३२ जनाले २००० डलर बराबरको थप छात्रवृत्ति पनि प्राप्त गरेका थिए । यसका साथै उनले संयुक्त राज्य अमेरिकाको इलिनोइसस्थित जोन्टा हेडक्वार्टरबाट थप ८००० डलर पनि प्राप्त गरेकी छिन् । उनी शैक्षिक वर्ष २०२१– २०२२ को लागि यस अन्तर्राष्ट्रिय छात्रवृत्ति प्राप्त गर्ने विश्वभरका छ जना क्षमतावान प्रतिभाहरु मध्य एक हुन् ।
उनी वित्त र लेखा विषय लिएर ब्रिटिस कलेजमा स्नातक अन्तिम वर्षमा अध्ययनरत छिन् । १९ वर्षको उमेरदेखि नै रुबीले विभिन्न विधामाहरूमा व्यवसाय इन्क्युबेशन, कन्टेन्ट क्रिएसन, मार्केटिङ, र परामर्श सेवाजस्ता धेरै स्टार्टअपहरूसँग काम गरिरहेकी छिन् । उनी उद्यमी नेपालीको पूर्व प्रमुख अपरेटिङ अफिसर पनि हुन् ।
उनले कम्पनीको कर्मचारीहरुलाई मार्गदर्शन गर्ने र उद्यमीहरूका लागि आवश्यक सामग्रीहरु बनाउने देखि लिएर कार्यक्रम संयोजन गर्ने विषयमा रणनीतिहरू बनाइन् । हाल उनी कीर्तिपुरको रोटरयाक्ट क्लबको चार्टर प्रेजिडेन्टको रूपमा नेतृत्व गरिरहेकी छिन् जहाँ उनले ४० भन्दा बढि स्थानीय युवाहरूसँग मिलेर सामुदायिक परियोजनाहरू र क्षमता विकास सम्बन्धि कार्यक्रमहरू संयोजन गरिरहेकी छिन् ।


