विराटनगर नाकासम्मको आवागमन सुचारु गराउन भारतका मजिस्ट्रेटलाई ज्ञापन |
विराटनगर । बिहीबार मोरङ व्यापार सङ्घको टोलीले मीरगन्ज पुलको समस्या निराकरण एवम् सम्भावित वैकिल्पक मार्गहरूमार्फत विराटनगर नाकासम्मको आवागमन सुचारु गराउने विषयमा भारतको अररियास्थित विभिन्न भारतीय अधिकारीहरूसँग प्रत्यक्ष भेटघाट गरी ज्ञापन पत्र बुझाएको छ ।
सङ्घका अध्यक्ष नवीन रिजालको नेतृत्वमा गएको एक टोलीले भारतको अररियास्थित समाहरणालय (कलेक्टरको कार्यालय)मा अररियाका कलेक्टर एवम् डिस्ट्रिक्ट मेजिस्टे«ट प्रशान्त कुमारलाई पत्र बुझाएको छ । त्यसैगरी त्यहाँका प्रहरी उपरीक्षक विनोदकुमार सिंहसहित भारतीय जनता पार्टीका मन्त्री अजयकुमार झा र जिल्ला महामन्त्री दिलीप झालाई समेत भेटघाट गरी क्षतिग्रस्त मीरगन्ज पुलका कारण नेपाली उद्योगी÷व्यवसायीहरूले भोगिरहेका समस्याबारे अवगत गराएको थियो ।
भेटघाटमा अध्यक्ष रिजालले विराटनगर नाकासम्मको भारतका मीरगन्ज पुल गत जनवरी ६ तारिकमा क्षतिग्रस्त भएयता करिब एक महिनादेखि सो मार्गबाट मालबाहक सवारी साधनहरूको आवागमन अवरुद्ध हुन पुगेको बताउँदै त्यस कारण दैनिक करिब चार सय मालबाहक सवारी साधन हाल भीमनगर–भन्टावारी नाका प्रयोग गर्दै थप एक सय ३० किमी गन्तव्य तय गर्न बाध्य भएको जानकारी गराएका थिए ।
साथै, अध्यक्षले त्यसबाट नेपाली उद्योगी÷व्यवसायीहरूलाई प्रति मालबाहक सवारी साधनमा करिब २० हजार सम्मको आर्थिक व्ययभार थप हुन पुगेको जनाउँदै त्यसको निराकरणका लागि भारतीय पक्षबाट तत्कालै विकल्पहरू अपनाउन अनुरोधसहित सङ्घको तर्फबाट सुझावहरू पेस गरेका थिए ।
निर्माणाधीन नयाँ पुल अस्थायीरूपमा आगामी तीन दिनभित्र सञ्चालनमा ल्याउने व्यवस्था गरिनुपर्ने तथा क्षतिग्रस्त मीरगन्ज पुलको मर्मत कार्य समेत शीघ्रताका साथ सम्पन्न गरिनुपर्ने सुझाव दिइएको थियो ।


