मीरगञ्ज पुल सहित विभिन्न समस्याहरु निराकरण गर्न संघको पहल |
काठमाडौं । शनिबार मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजालसहित संघका पदाधिकारीहरु र कार्यसमिति सदस्यहरुले विराटनगर नाका जोड्ने भारतको जिर्ण अवस्थाको मीरगञ्ज पुलको स्थलगत निरिक्षण गर्दै सोबाट मोरङ–सुनसरी आर्थिक कोरिडोरको औद्योगिक–व्यवसायिक क्षेत्रमा श्रृजित समस्याहरुको तत्कालै निराकरणका लागि सम्बन्धित निकायमा पहल गरेको छ ।
अध्यक्ष नवीन रिजालको नेतृत्वमा गएको संघको टोलीले सो पुलको निरिक्षण गर्नुका साथै विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतसँग समेत भेटघाट गरी विद्यमान अवस्था बारे छलफल गरेको थियो । साथै, अध्यक्ष रिजालले मोरङ–सुनसरी औद्योगिक कोरिडोरका लागि विराटनगर नाका मार्फत आवत जावत गर्ने मालवाहक सवारी साधनहरुको सहज आवागमनको व्यवस्थापन गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार समेत गरेका छन् ।
अध्यक्ष रिजालले पत्र मार्फत परराष्ट्र मन्त्रालय समक्ष सो पुलको स्थायी समाधान नहुञ्जेल भारतको अररिया कुर्साकाँटा–जोगबनी सडक मार्फत ३० टन सम्मका मालवाहक सवारी साधनहरु आवागमनका लागि भारतीय प्रशासनले अनुमति दिनु पर्ने, सो पुलको समानान्तरमा अन्तिम चरणमा निर्माणाधिन पुललाई ३ दिन भित्र अस्थायी रुपमा संचालनमा ल्याउनु पर्ने र हाल स्थगन भएको मीरगञ्ज पुलको जिर्णोद्वार कार्य तत्कालै सुचारु गर्नु पर्ने आदि माग राख्दै सोका लागि भारतीय पक्षलाई तत्कालै पहल गर्न अनुरोध गरेका छन् ।
त्यस्तै, अध्यक्ष रिजालले विराटनगर महानगरपालिकाका नगर प्रमुखज्यूसँग समेत भेट गरि कोभिड १९ संक्रमण रोकथान एवं नियन्त्रणार्थ महानगरपालिकाका पछिल्ला गतिविधिहरु बारे जानकारी लिँदै नगरवासीहरुका लागि खोप र वुस्टर डोजको सहज उपलब्धताका लागि शिघ्र व्यवस्थापन गर्न समेत अनुरोध गरे ।
त्यसका साथै, संघको समन्वयमा विराटनगरमा निर्माण गरिने प्रदेशस्तरीय प्रदर्शनीस्थल तथा उद्योगी–व्यवसायीहरुका विद्यमान समस्याहरु बारे छलफल गर्न अध्यक्ष नवीन रिजालले डा. शेखर कोईराला सहित विभिन्न वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिसँग समेत भेटघाट गरेका छन् ।


