लेखा व्यवसायी राष्ट्रिय अर्थतन्त्रका मेरुदण्ड हुन् : महालेखापरीक्षक शर्मा |
काठमाडौं । महालेखापरीक्षक टंकमणि शर्मा दंगालले मुलुकको आर्थिक अनुशासन र वित्तीय पारदर्शिता कायम गर्न लेखा व्यवसायीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्। सोमबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको २५औं वार्षिकोत्सव तथा रजतजयन्तीको अवसरमा आयोजित समारोहमा शुभकामना मन्तव्य राख्दै महालेखापरीक्षक शर्माले उक्त धारणा राखेका हुन्।
उनले विश्वसामू उत्कृष्ट लेखा व्यवसायी संस्था हुन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थालाइ सुझाव दिँदै लेखा व्यवसायका लागि आवश्यक दक्ष जनशक्तिको विकासमा ध्यान दिनसमेत आग्रह गरे। मुलुकमा वित्तीय पारर्दशिता तथा सुशासन कायम गर्नतर्फ लेखा व्यवसायीहरुले ध्यान दिन सक्नुपर्ने खाँचो उनले औंल्याए। मुलुकका धेरै आर्थिक क्रियाकलाप अहिले डिजिटल प्रीवधिबाट हुने गरेको उल्लेख गर्दै लेखा व्यवसायमा प्रविधिको अधिकतम प्रयोगमा ध्यान दिन पनि उनले सुझाव दिए।
सोही अवसरमा महालेखापरीक्षक शर्माले संस्थाबाट प्रकाशित स्मारिका तथा संस्थाको रणनीतिक योजना सार्वजनिक गरेका थिए।
संस्थाको केन्द्रीय कार्यालय ललितपुरमा आयोजित समारोहको उद्घाटन संस्थाकाअध्यक्ष युद्धराज ओलीले गरेका थिए। उनले संस्थाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनसमेत प्रस्तुत गरेका थिए। मन्तव्यका क्रममा उनले संस्थालाई यस अवस्थासम्म ल्याइपुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गरे।
कार्यक्रमा संस्थाका पूर्वअध्यक्ष तीर्थराज उपाध्याय, उपाध्यक्ष भाष्करसिंह लाला, संस्थाका कार्यकारी निर्देशक सन्जयकुमार सिन्हालगायतले संस्थाका विविध पक्षबारे आ-आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा संस्थाको स्थापना, विकास तथा यसका गतिविधिहरुमा उत्कृष्ट योगदान पुर्याउने संस्थाको अन्तरिम तथा प्रथम परिषद्काअध्यक्ष स्व.कोमलबहादुर चित्रकारलाई मरणोपरान्त विशेष सम्मान गरिएको थियो। आठौं परिषद्का अध्यक्षहरु सीए जगन्नाथ उपाध्याय निरौला, सीए कृष्णप्रसाद आचार्य र सीए मदनकृष्ण शर्मालाई सम्मान गरिएको थियो। यस्तै संस्थामा २० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीहरुलाई दीर्घसेवा पदक तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो।


