माघ तेस्रो सातादेखि संक्रमणदर दैनिक २० हजार पुग्ने |
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ महिनाको तेस्रो साता संक्रमण दर उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरेको छ । मन्त्रालयका अनुसार माघको तेस्रो सातादेखि दैनिक २० हजारभन्दा बढी संक्रमित हुन सक्ने अनुमान गरिएको छ ।
माघको तेस्रो सातासम्म करिब १३ हजार संक्रमितलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था हुन सक्छ, जसमध्ये ९ हजार ८४८ जनामा भने सामान्य लक्षण मात्रै देखिने, करिब १ हजार बढीमा गम्भीर विरामीको लक्षण तथा करिब ३९५ जना गम्भीर बिरामी हुने आँकलन छ । विहीबार अहिलेसम्मकै सबैभन्दा धेरै १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै, माघको तेस्रो साताबाट विस्तारै घट्दै गएर चैत्रको अन्त्यतिर कोरोना संक्रमण नियन्त्रणमा आउने स्वास्थ्य मन्त्रालयले प्रक्षेपण गरेको हो । कोरोना महामारीको दोस्रो लहरमा संक्रमण दर उत्कर्षमा पुग्दा अस्पतालमा बेड, एचडीयू, आईसीयू, भेन्टिलेटर र अक्सिजनको अभावमा संक्रमितले ज्यान गुमाएमा थिए । हाल कोरोनाको तेस्रो लहरसँग जुध्न भने स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राखिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।


