एकैदिन १,४४६ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा ८७६ जना थपिए |
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १,४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १,४४६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २५५ जना संक्रमणमुक्त भएका छन् ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३१ हजार ४५० पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६०६ पुगेको छ भने ८ लाख १४ हजार ४८५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ जना रहेका छन् । जसमध्ये ७ हजार २४५ जना होम आइसोलेसनमा रहेका छन् भने ६१० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६७ जना आईसीयू र १६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका २६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १४९ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौँ बन्यो कोरोनाको ‘हटस्पट’
काठमाडौँ उपत्यका कोरोभाइरस सङ्क्रमणको हटस्पट बनेको छ । उपत्यकामा एकै दिन ८७६ जना कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितमध्ये यो सङ्ख्या ६० प्रतिशतभन्दा बढी हो । काठमाडौँ जिल्लामा मात्र ६७५ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ललितपुरमा १३६ तथा भक्तपुरमा ६५ जना सङ्क्रमित थपिएका छन् ।



