वीरगञ्ज महानगरपालिकामा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न |
काठमाडौं । बीमा समितिको आयोजनामा आज बीरगञ्ज महानगरपालिकामा बीमासम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमा समितिका निर्देशक दिनेश कुमार लालले बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र बीमाको दायरा विस्तारमा स्थानीय तहको भूमिका लगायतका विषय समेटिएको बीमा कार्यपत्र प्रस्तुत गरे ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी, उपप्रमुख शान्ति कार्की, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक दिनेश कुमार लाल, बीरगञ्ज महानगरपालिकाका वडा अध्यक्ष, सदस्य तथा प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरु, विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, शिक्षक, संचारकर्मी लगायत गरी ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले बीमासम्बन्धी जनचेतना अभिवृद्धिका लागि स्थानीय तहसँगको समन्वयमा बीमा समितिले वडा वडामा कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता औंल्याए । उनले महानगरपालिकाले गत आर्थिक वर्षमा कृषि बीमामा अनुदानका लागि रु. १५ लाख छुट्याएको तर बीमासम्बन्धी जानकारीको अभावमा उक्त रकम उपयोगमा नआएको बताए ।
बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले देशमा बीमाको पहुँच विस्तारका लागि बीमासम्बन्धी विद्यमान व्यवस्थामा के कस्ता सुधार गर्नुपर्छ र बीमालेखमा कस्तो किसिमको परिमार्जन गर्नुपर्छ भन्ने सम्बन्धमा स्थानीय सरकारहरुबाट सुझाव लिने उद्देश्यले समेत कार्यक्रम आयोजना गरिएको बताए ।
उनले कृषि तथा पशुपन्छी बीमालेखमा सरलीकृत गरिने जानकारी दिनुहुँदै बीमा कम्पनीहरुलाई झुक्याएर बीमा गर्न आकर्षित गर्ने खालका विज्ञापन नगर्न र कृषि तथा पशुपन्छी सहित सबै बीमाको दाबी भुक्तानी तत्काल गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिइएको बताए ।


