उद्योग संगठन मोरङको बिजनेश क्लिनिक कार्यान्वयनमा |
काठमाडौं। उद्योग संगठन मोरङले उद्योग व्यवसायका समस्याहरुको समाधान गर्ने सेवाको रुपमा सिआइएम बिजनेश क्लिनिक कार्यान्वयनमा आएको छ।
गत साता काठमाडौमा संगठनको प्रतिनिधिमण्डलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र मन्त्रालयको टिम समक्ष बिजनेश क्लिनिकमा हालसम्म संकलन गरिएका सदस्य उद्योग प्रतिष्ठानहरुका १०४ वटा विभिन्न क्षेत्र तथा बिषयसँग सम्बन्धीत समस्याहरु प्रस्तुत गरेसँगै क्लिनिक कार्यान्वयनमा आएको हो।
क्लिनिकमा संकलित सदस्य उद्योग प्रतिष्ठानहरु समस्या समाधानको सहजिकरणका लागि उद्योग मन्त्रालयमा सम्पर्क समन्वय बिन्दु तोक्नुका साथै हरेक तिन तिन महिनामा संगठन र मन्त्रालय बिच सहजिकरण बैठक तथा समिक्षा बैठक गर्ने समझदारी भएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए।
संगठनले सदस्य उद्योग प्रतिष्ठानका समस्याहरु संकलन गर्न सदस्य प्रतिष्ठानमा प्रत्यक्ष भ्रमणगर्न उद्योग भ्रमण कार्यक्रम नै सञ्चालन गरिरहेको छ।
यसरी संकलित समस्याहरुलाई कार्यान्वयन तहका, नीतिगत तहका, उद्योग विशेष वा साझा समस्या तथा उर्जा, कर, राजश्व, श्रम, भन्सार, निर्यात आयात, बैंक तथा वित्तिय क्षेत्र, स्थानीय सरकार जस्ता विषयहरुमा बर्गिकरण गर्दै सोहि अनुरुपको समाधानका लागी सम्बन्धीत निकायमा पहल र प्रयत्न गर्दै आएकोमा उद्योग मन्त्रालयमा फोकल बिन्दु तोकिएसँगै अब उद्योगी व्यवसायीहरुका समस्याहरुको एकै स्थानबाट समाधानका लागी पहल र प्रयत्नगर्न सहज हुने अध्यक्ष प्याकुरेलले जानकारी दिए।
संगठनको बार्षिक रणनीतिक कार्ययोजना अनुरुप सदस्य उद्योग प्रतिष्ठानहरुको समस्या समाधानका लागी पैरवी गर्दै उद्योग व्यवसायलाई पूर्ण क्षमता सञ्चालन गर्न क्षमता अभिबृद्धिमा समेत सघाउने उद्देश्यले बिजनेश क्लिनिकको आवश्यकता महशुश गरि नमुना कार्यक्रमका रुपमा कार्यान्वयनमा ल्याइएको अध्यक्ष प्याकुरेलले बताए।
संगठनले सञ्चालनमा ल्याएको बिजनेश क्लिनिकमा आन्तरिक र बाह्य गरि दुईवटा कम्पोनेन्ट रहेका छन। आन्तरिक कम्पोनेन्ट अन्तरगत सम्बन्धी उद्योग वा व्यवसायको आनतरिक क्षमता जाँचपडताल डायग्नोसिस गर्न बिजनेश हेल्थ चेकअपको सेवा उपलब्ध रहेको तथाबाह्य कम्पोनेन्ट अन्तरगत उद्योग व्यवसायका समस्याहरुको संकलन तथा पहिचानका लागी उद्योगहरुको भ्रमण गर्ने, समस्याको वर्गिकरण गर्ने, नीति बिश्लेषण तथा अनुसन्धान गर्ने र समाधानका लागी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको फोकल बिन्दु मार्फत सहजीकरण गर्ने जस्ता बिषयहरु समेटिएको संगठनका महानिर्देशक चुडामणी भट्टराईले जनाएका छन।
उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा भएको छलफलमासंगठनका अन्य कार्यक्रमहरु क्रमशः सीप विकास कार्यक्रम, स्टार्टअप तथा इनोभेशन कार्यक्रम, औद्योगिक अध्ययन केन्द्र, नीतिगत बहस पैरवी फ्रेमवर्क, मेरो देश मेरै उत्पादन लगायतका कार्यक्रमहरुका बारेमा समेत प्रस्तुतीकरण गरिएको थियो।
कार्यक्रममा उद्योग मन्त्रालयका सचिव पोखरेलले संगठनले अघि सारेका सबै कार्यक्रमहरु सरकारको प्राथमिकता तथा मन्त्रालयको कार्यक्षेत्र भित्रै पर्ने भएकोले सहकार्य गरि काम गर्न तत्पर रहेको उल्लेख गरे।
संगठनले विजनेश क्लिनिकका सम्बन्धमा संघिय सरकारका अर्थ सचिव समक्ष गत असोज १५ गते बैठक गरि क्लिनिकको शुभारम्भ गरेको थियो भने क्रमशः प्रदेश र स्थानीय सरकारहरुसंग समेत आर्थिक तथा औद्योगिक विकासका महत्वपूर्ण आयामका रुपमा रहेका कार्यक्रमहरुको दिगो एवं सफलतापूर्वक कायान्वयन गर्न सहकार्य गर्दै क्लिनिक सञ्चालन गरिने संगठनले जनाएको छ।


