निजी क्षेत्रको समस्या समाधान गर्न सरकार तयार देखिएन : अध्यक्ष गोल्छा |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको समस्या समाधान गर्न सरकार अग्रसर नभएको बताएका छन् । उनले सोमबार वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्ने कार्यक्रममा बोल्दै सरकारले निजी क्षेत्रको समस्या र माग सम्बोधन गर्न इच्छा नदेखाएको आरोप लगाएका हुन् ।
उनले निजी क्षेत्रको सहभागिता विना देशको आर्थिक समृद्धि सम्भव नभएको बताउँदै भने, ‘महासंघले तयार पारेको भिजन पेपरले निजी क्षेत्रका एक सय वटा समस्या पहिचान गरेको छ ।’ जसमध्ये आफ्नै कार्यकालमा ४४ वटा समस्या समाधान गर्न महासंघले पहलकदमी थाल्ने उनको भनाई छ । पहिचान गरिएका समस्या समाधान गर्न सकेमा मात्रै देशमा लगानीको वातावरण बन्ने गोल्छाको दाबी छ ।
उनले अहिले देखिएको तरलता अभावका कारण लयमा फर्कन थालेको अर्थतन्त्रमा फेरी समस्या पर्न थालेको बताए । उनले अहिलेको तरलता अभावको समस्या समाधान गर्न सरोकारवाला सबै लाग्नुपर्ने बताए ।


