नेपाली मार्केटिङ एसोसिएसन दर्ता |
काठमाडौं । नेपाल बजारीकरण संघ (नेप्लिज मार्केटिङ एसोसिएशन–एनएमए) दर्ता भएको छ । बस्तु तथा सेवाको बजारीकरणलाई मुख्य पेशा बनाएकाहरूको छाता संस्था एनएमएलाई एक गैरनाफामूलक संस्थाका रूपमा दर्ता गरिएको हो । संघमा बजारीकरणका क्षेत्रमा क्रियाशील र शिक्षा विदहरू सहभागी छन् ।
अन्तरिम बोर्ड अध्यक्षमा महेश स्वाँर, महासचिवमा त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा. गोपाल थापा, सचिवमा सह–प्राध्यापक सुशील अवाले र कोषाध्यक्षमा पुनम सिंहलाई जिम्मेवारी तोकिएको एनएमएले जानकारी दिएको छ । अन्य सदस्यहरूमा अभय गोर्खाली, सुमन शाक्य, श्रृजना जोशी महर्जन, सत्यन्द्र उप्रेती र सुरेन्द्र थापा छन् ।
एनएमएले डा. तुल्सी धरेललाई संस्था गठनमा महत्वपूर्ण भूमिका निर्वाह निम्ति सम्माननीय सदस्यको रूपमा अभिनन्दन पनि गरेको छ । अन्य तीन सदस्यहरू शिक्षाविद डा. बगला बस्नेत, मायोज नुडल्सका पूर्व जीएम रविन्द्रमान श्रेष्ठ र सूर्य नेपालका रवी केसीलाई पनि सम्मान गरेको छ ।
बजारीकरण पेशेवरहरूलाई उनीहरूको कार्यप्रति सहयोग गर्न, उनीहरूको व्यक्तिगत र पेशागत जीवन उत्तम बनाउन, नैतिक मुद्दा र सामान्य बजारीकरण कार्यहरू प्रवद्र्धन गर्नको लागि एनएमएले शिक्षामा बढी जोड दिने लक्ष्य राखेको छ । एनएमएले सोही कार्यक्रममा ‘लेट्स ब्राण्ड नेपाल’ नामक आफ्नो पहिलो पहलको घोषणा पनि गरेको छ ।


