कामना विकास बैंकको आयोजनामा पुस ९ र १० गते फुटसल प्रतियोगिता हुने |
काठमाडौं । ‘स्वस्थ्य शरीर स्वस्थ्य मस्तिष्क’ मुल नारासहित कामना विकास बैंकले वित्तीय क्षेत्रलाई समेटेर कामना सेवा फुटसल कप २०२१ प्रतियोगिताको आयोजना गर्ने भएको छ । बैंकले बैंक तथा वित्तीय तथा बीमा क्षेत्रका कर्मचारीहरुलाई समेटेर यहीँ पुस ९ र १० गते काठमाडौंमा फुटसल प्रतियोगिता गर्न लागेको हो ।
उक्त फुट्सल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु समेत गरी कुल २४ वटा टिम सहभागी हुने बैंकले जनाएको छ । उक्त खेलको लागि गोला प्रथाको प्रक्रियाबाटसमूह विभाजन गरिएको बैंकले जनाएको छ ।
बिहीबार पत्रकारसम्मेलन गर्दै बैंकले सो प्रतियोगिता बारे जानकारी दिएको हो । कार्यक्रममा एन्फा फुटबल कमिटिका प्रतिनिधि, खेलमा सहभागी संस्थाहरुका प्रतिनिधिहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा एन्फा फुटबल कमिटिले खेलका नियमहरुको बारेमा जानकारी गराएको थियो भने उक्त प्रतियोगितामा एन्फा फुटबल कमिटिले रेफ्रिहरु उपलब्ध गराउनुका साथै खेल सम्पन्न गर्नको लागि सहजीकरण समेत गर्ने जानकारी दिएको छ ।
प्रतियोगिता युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।


