आयात बढ्दा शोधनान्तर घाटा १५० अर्ब पुग्यो |
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा शोधनान्तर घाटा बढेर १५० अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। असोज महिनासम्म ७५ अर्ब १४ करोड रुपैयाँ मात्र घाटा रहेकोमा चौथो महिनामा ह्वात्तै बढेर डेढ खर्बभन्दा बढी शोधनान्तर घाटा पुगेको हो ।
चार महिना भित्र नेपालमा रेमिट्यान्सको रुपमा ३१२ अर्ब ४२ करोड रुपैयाँ नेपाल भित्रिए पनि चुलिँदो व्यापार घाटा पुर्ति गर्न सकिने गरी रकम भित्रिन नसक्दा शोधनान्तर घाटा आकाशिएको हो । चार महिनामा नेपालले ८२ अर्ब १२ करोडको सामान निर्यात गरेर ६ सय ५० अर्ब २९ करोडको सामान आयात गरेको छ । चार महिनाको व्यापार घाटा मात्रै ५६८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमार्फत ६ अर्ब ६३ करोड रुपैयाँ नेपाल भित्रिएको छ भने रेमिट्यान्समार्फत ३ सय १२ अर्ब ४२ करोड र सामान निर्यात गरेर ८२ अर्ब १२ करोड रुपैयाँ नेपाल भित्र्याएको छ तर नेपालले सामान किन्न मात्रै ६ सय ५० अर्ब २९ करोड रुपैयाँ नेपाल बाहिर पठाउँदा शोधनान्तर घाटा एकदमै डरलाग्दो गरी बढेर गएको हो ।
त्यसमाथि पर्यटन क्षेत्र ठप्प हुँदा खुद सेवा आय समेत ३१ अर्ब २० करोडले घाटामा रहेको छ । नेपालमा पर्यटकको आगमनमा खासै बाक्लिएको अवस्था छैन भने नेपालीहरु विदेश भ्रमण एवम् पढ्नको लागि विदेशिनेको संख्या बढ्दा सेवा क्षेत्र समेत नकारात्मक देखिन पुगेको हो । शोधनान्तर घाटाले नेपाल भित्रिने रकमभन्दा नेपालबाहिर जाने रकम बढी रहेको जनाउ दिन्छ ।
समीक्षा अवधिमा चालु खाता पनि २२३ अर्ब १९ करोडले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३९.३ प्रतिशतले कमीआई २ अर्ब ५२ करोड रुपैयाँ मात्रै रहेको छ । बढ्दो व्यापार घाटासँगै नेपालको विदेशी विनिमय सञ्चिति पनि विस्तारै घट्दै गएको छ । कात्तिक मसासन्तसम्म पुग्दा देशको विदेशी विनिमय सञ्चिति १० अर्ब ४७ करोड अमेरिकी डलर पुगेको छ । यो सञ्चितिले ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न मात्रै पर्याप्त रहेको छ ।


