अमेरिकामा भीषण आँधी : मृतकको संख्या ७० पुग्यो | बाइडेनद्वारा केन्टकीमा आपतकाल घोषणा
काठमाडौं । अमेरिकाको केन्टकी राज्यमा आएको आँधीका कारण ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यद्यपि खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।
यो आँधीलाई अमेरिकाको इतिहासकै ठूलो आँधी भनिएको छ । आँधीबाट मेफिल्ड शहर नराम्रोसँग प्रभावित भएको छ । सो शहरमा अवस्थित एक मैनबत्ती कारखानामामात्रै १२ जना मजदुरको मृत्यु भएको बताइएको छ । उद्धारकर्मीहरुले कारखानाबाट १४० भन्दा बढी व्यक्तिहरुलाई सुरक्षित रुपमा बाहिर निकालेका छन् । केन्टकीका गर्भनर एण्डी बेशियरले अब कुनै भग्नावशेषबाट कसैलाई सुरक्षित रुपमा निकाल्न सकिएमा त्यो चमत्कार हुने बताएका छन् ।
उनले मेफिल्ड शहर र केन्टकीको आँधीको बाटोमा परेका क्षेत्र पूर्णरुपमा तहसनहस भएको बताएका छन् । उनले भनेका छन्, ‘मैले यस्तो नराम्रो अवस्था देखेको थिइनँ । म स्थितिको शव्दमा व्यक्त गर्न सक्दैन । ्
राष्ट्रपति जो बाइडनले अमेरिकाको मध्य इलाकामा भयंकर आँधी आएको भन्दै पीडितको उद्धार तथा राहतका लागि हरसम्भव कदम चाल्ने घोषणा गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । राष्ट्रपति बाइडनले आइतबार विशेष टोली केन्टकी जाने र घरबाहरविहीन भएकाहरुका लागि आवास तथा खानाको प्रबन्ध मिलाउने बताएका छन् ।
केन्टकीका साथै मिसौरी, आरकन्सास, इलिनोय, मिसिसिपी पनि आँधीबाट प्रभावित भएका छन् ।
बीबीसीका उत्तर अमेरिकी सम्वाददाताले केन्टकीको स्थिति निकै चुनौतीपूर्ण रहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले केन्टकीमा आपत्कालीन अवस्थाको घोषणा गरेका छन् । उनले टोरनाडोले ठूलो जनधनको क्षति भएपछि उक्त आपत्कालीन आदेश जारी गरेका हुन् । राष्ट्रपतिको उक्त आदेशले स्थानीय जनसङ्ख्यामा आपतकालीन अवस्थाबाट उत्पन्न कठिनाइ र पीडालाई कम गर्ने उद्देश्यका साथ सबै विपद् राहत प्रयासहरू समन्वय गर्न गृह, सुरक्षा विभाग, संघीय आपतकालीन व्यवस्थापन निकाय (फेमा) लाई अधिकार प्रत्याजोन गरेको छ ।

