सोसल डेमोक्रेट स्कोल्ज बने जर्मनीको चान्सलर |
बर्लिन । सोसल डेमोक्रेट ओलाफ स्कोल्ज जर्मनीको चान्सलर बनेका छन् । १६ वर्ष लामो मर्केल युगको अन्त्य गर्दै स्कोल्ज नयाँ चान्सलर बनेका हुन् ।
६३ वर्षीय स्कोल्जले यसअघि एंगेला मर्केलको सरकारमा भाइस चान्सलर र अर्थमन्त्रीको रूपमा काम गरेका थिए ।
बुधबार चान्सलरका लागि संसद्मा भएको चुनावमा स्कोल्जले ३०३ का विरुद्ध ३९५ मत प्राप्त गरे । उनको मध्य वामपन्थी सोसल डेमोक्रेटले ग्रीन पार्टी र फ्रि डेमोक्रेटसँग मिलेर शासन गर्नेछ ।
जर्मनीको सांसदसमेत नरहेकी निवर्तमान चान्सलर एंगेला मर्केलले दर्शक बस्ने कक्षमा बसेर संसद्को मतदान हेरेकी थिइन् । उतारचढावपूर्ण समयमा जर्मनीको नेतृत्व गरेकी मर्केलले अब अर्को राजनीतिक भूमिका नखोज्ने बताएकी छन् । उनले आफ्नो भविष्यको योजना अझै सार्वजनिक गरेकी छैनन् । तर यसै वर्षको सुरुतिर पढ्न र आराम गर्न समय लिने बताएकी थिइन् ।


