नेपालमा नयाँ भेरियन्ट फेला परेको छैन : स्वास्थ्य मन्त्रालय |
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले शुक्रवार दक्षिण अफ्रिकाका सबै प्रान्तमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको जनायो । यो भेरिअन्ट नोभेम्बर ९ मा संकलित नमुनामा पहिलो पटक फेला परेको हो । सङ्गठनले पहिला यो भेरिअन्टलाई बी.१.१.१५९ को संकेतबाट चिनाएको थियो । कोरोनाको पछिल्लो भेरियन्टलाई ओमिक्रोन नामकरण गरिएको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट अहिलेसम्म १० मुलुकमा फैलिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । पछिल्लो विवरण अनुसार हालसम्म दक्षिण अफ्रिका लगायत १० वटा मुलुकमा ओमिक्रोनका संक्रमित फेला परिसकेका छन् । हालसम्म अष्ट्रेलिया, इटाली, जर्मनी, नेदरल्याण्ड, बेलायत, इजरायल, हङकङ, बेलिजयम लगायत विभिन्न देशमा फैलिसकेको छ ।
डब्ल्यूएचओले ओमिक्रोनलाई ‘चिन्ताको विषय’ भनेर विश्वभरी नै सतर्क रहन भनेको छ । अहिले कोरोनाको ओमिक्रोन भेरियन्टले विश्वलाई चिन्तित बनाएको छ । तीव्र संक्रामक र घातक देखिएको यो भेरियन्टले नेपालमा पनि थप त्रास सिर्जना गरेको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले बताए । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा पनि फैलन सक्ने आँकलन गरिएपछि सतर्कता अपनाउन थालिएको हो ।
उनले ओमिक्रोन भित्रिन नदिन सरकारले उच्च सतर्कता अपनाउँदै यसको नियन्त्रणका लागि व्यापक कदम चाल्न र खोप अभियानलाई थप तीब्रता दिन थालिएको बताए । उनले भने, ‘कोरोना भाइरसको नयाँ भेरियन्टले हामी सबैलाई चिन्ताको विषय बनेको छ । यो भेरियन्टको प्रभावकारी व्यवस्थापनका लागि व्यापक नियन्त्रण, निगरानी, खोप लगाउने कार्यमा वृद्धि र कोभिडसम्बन्धी उपयुक्त व्यवहारलाई सक्रियताका साथ लागू गर्न आवश्यक छ ।’
साथै उनले नेपालमा हालसम्म यो भाइरसका संक्रमित नभेटिएको समेत जानकारी दिए । उनले भने, ‘नयाँ भेरियन्टबाट हालसम्म नेपालमा कुनै पनि संक्रमित फेला परेका छैनन । तर, नयाँ भेरियन्ट देखिएपछि नेपालमा पनि जुनसुकै बेला यसको संक्रमण देखिन्छ भनेर तिव्र तयारी गरिरहेका छौं ।’ नेपालमा अहिलेसम्म नदेखिए पनि फैलन सक्ने सम्भावना रहेको उनले बताए । अधिकारी भन्छन्, ‘तर हामी फैलिन नदिनका लागि तयारी अवस्थामा रहेका छौँ ।’


