भैरहवा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गर्ने तयारी |
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान हुने निश्चित भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरोथाई)ले आगामी २२ नोभेम्बर (६ मंसिर)मा गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन उडानका दौरान टोली नेपाल आउने जानकारी गराएको छ । यसअनुसर मंसिर दोस्रो सातामा क्यालिब्रेसन फ्लाइट हुने छ । निर्माण शुरु भएको ७ वर्षपछि यसको काम अन्तिम अवस्थामा पुगेको हो ।
प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार एरोथाईले नेपाल आउने मिति निश्चित गरेको हो । ‘हामीलाई २२ नोभेम्बरमा टोली नेपाल आउने जानकारी गराइएको छ,’उनले भने, ‘अब आयोजना सम्बद्ध अधिकारी र उनीहरुको प्राविधिक टोली बसेर उडानको मिति तय हुन्छ ।’
क्यालिब्रेसन उडानमार्फत विमानस्थलमा जडान भएका सञ्चारदेखि उडान–अवतरणका लागि आवश्यक अन्य उपकरणहरुले काम गरे–नगरेको परीक्षण हुन्छ । गौतमबुद्ध विमानस्थलको उपकरण जडानतर्फको ठेक्का एरोथाईले नै पाएको थियो ।
सो ठेक्का सम्झौतामै यस्तो उडान समेत समेटिएको थियो । बीचमा कोरोना भाइरसको महामारीका कारण अन्यौल भएपनि अब भने उडान हुने निश्चित भएको प्राधिकरणले जनाएको छ ।
परीक्षण उडानपछि के हुन्छ ?
फ्लाइट क्यालिब्रेसनपछि संचार, कन्ट्रोल टावरसहित विमानस्थलमा जडित उडान–उपकरणहरुले काम गरे–नगरेको पत्ता लाग्नेछ । यस्तो फ्लाइटमा विज्ञहरु सहभागी हुन्छन् । परीक्षण उडान गर्न विशेष जहाज चाहिन्छ ।
कम्यूनिकेशन र कन्ट्रोल टावरसँग सम्बन्धित उपकरणको परीक्षण सफल भएपछि भने जहाज उडान∕अवतरणको बाटो खुल्नेछ । त्यसपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट मान्यताप्राप्त रुट स्थापित गर्नुपर्ने हुन्छ ।
प्राधिकरणका अनुसार भैरहवा विमानस्थलमा फ्लाइट क्यालिब्रेसन सकिएपछिको तीन महिनामा विमानस्थल व्यवसायिक उडानका लागि योग्य बन्नेछ ।
प्राधिकरणका अनुसार त्यसपछि प्राधिकरण आफैले परीक्षण उडान गरी अन्तर्राष्ट्रिय उडानका लागि यो विमानस्थल खुला गर्नेछ ।
सञ्चालन–व्यवस्थापन प्राधिकरणबाटै
प्राधिकरणका अनुसार यो विमानस्थलमा परीक्षण पुरा भएपछि संचालन तथा व्यवस्थापन अहिले प्राधिकरणकै जनशक्तिबाट हुने छ । यहाँ आन्तरिक विमानस्थल अहिले पनि संचालनमा छ । त्यसमा थप जनशक्तिसहित दरवन्दी तय भइसकेको बताइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको संचालनका लागि आफ्नोतर्फबाट १ सय ५१ जना कर्मचारी रहने गरी दरवन्दी तय गरेको छ ।
यसमध्ये ३६ जनाको दरवन्दी अहिले आन्तरिक विमानस्थल सञ्चालनकै दौरान रहेको छ । त्यो जनशक्तिमा थप गरी दरवन्दी तय गरिएको छ ।


