धितोपत्र बोर्डको अध्यक्षमा निवेदन दिने १२ पुगे |
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा पदका लागि आवेदन दिने १२ पुगेका छन्। अर्थ मन्त्रालयका अनुसार अन्तिम समयमा आएर थप एक जना थपिए सँगै निवेदन दिनेको सङ्ख्या १२ पुगेको हो। १२ जनाको निवेदन परेसँगै आवेदन सङ्ख्या एक दर्जन पुगेको छ।
“निवेदन दिनेहरूमा नीरज गिरी, डा. नवराज अधिकारी, अनिल पौडेल, सिताराम थपलिया, चिन्जिबी चापागाईँ, कृष्ण प्रसाद आचार्य, गोपाल भट्ट,डा. केशव प्रसाद श्रेष्ठ,जीवन अमगाइ, रमेश हमाल,अम्बिका शर्मा लामिछाने र हेमन्त बस्याल हुनुहुन्छ” अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन महाशाखा प्रमुख सहसचिव रमेश कुमार केसीले भने।
धितोपत्र बोर्डको रिक्त पदकोलागि अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा एक समिति गठन गरी आवेदन माग गरेको थियो। निवेदन दिने बिहीबार अन्तिम दिन रहेको थियो। बिहीबार कार्यालय समयसम्म एक दर्जनले आवेदन गरेका हुन। आवेदन गर्नेहरूमा पूर्व प्रशासकदेखि पूर्व अध्यक्ष सम्म छन्।
निवेदन दिने गिरी नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन्। उनी लामो समयदेखि बोर्डमा कार्यरत छन्। पूँजी बजारमा लामो समयको अनुभव बोकेका गिरी यस पटक पनि प्रतिस्पर्धामा उत्रिएका छन्। यस अघि उनी अन्तिम तीनबाट फालिएका थिए।
अधिकारी बोर्डका उप कार्यकारी निर्देशक हुन्। उनले पनि बोर्डमा निकै लामो अनुभव बोकेका छन्। उनी एकीकृत नेपाल कम्युनिस्ट पार्टी(माओवादी)अध्यक्ष पुष्प कमल दाहालको सदिच्छा पाएर निवेदन दिएको बुझिएको छ। उनको पक्षमा बोर्डका कर्मचारी समेत रहेको बुझिएको छ।
अनिल पौडेल विदेशबाट पढेर आएका हुन्। उनी चार्टड एकाउन्टेन्ट हुन्। थपलिया नेपाल स्टक एक्सचेन्जका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन्। उनले नै नेपाल स्टक एक्सचेन्जको अनलाइन प्रविधिको विकासको जग हालेका थिए। चापाँगाइ बीमा समितिका निवर्तमान अध्यक्ष हुन्। उनले नयाँ बिमा कम्पनी खोल्ने लाइसेन्स दिएका थिए। उनैको पालामा बीमाको बजार सात प्रतिशतबाट बढेर २५ प्रतिशत पुगेको थियो।
आचार्य कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक हुन्। शेयर बजारका विश्लेषक केशव प्रसाद श्रेष्ठ पनि यस पटको प्रतिस्पर्धा उत्रिएका छन् भने स्टक मार्केटसँग सम्बन्धित विषयमा बिद्याबारिधि गरेका नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक गोपाल भट्ट समेत यस पटकको बलियो दाबेदारको रुपमा देखिएका छन्।
जीवन अमगाइ, रमेश हमाल र अम्बिका शर्मा बजारमा यस अघि नचिनिएका व्यक्ति हुन्। अन्तिममा आवेदन गर्ने हेमन्त बस्याल शेयर लगानीकर्ता माझ चिनिएका व्यक्ति हुन्। उनी फण्डामेनेन्टल विश्लेषकका रुपमा बजारमा परिचित छन्। क्लब हाउसमा नियमित रुपमा लगानीकर्तालाई शेयर बजार बारे जानकारी दिँदै आएका बस्याल लामो समयदेखि शेयर बजारमै सक्रिय छन्।
बोर्ड अध्यक्ष राजनीतिक नियुक्ति भएकोले पार्टीको लबिङ र लाइन मिल्नु पर्ने हुन्छ। प्रतिस्पर्धा उत्रिएका सबैले कुनै न कुनै लाइन समाएर आवेदन दिएको बुझिएको छ। बोर्ड अध्यक्ष राजनीतिक नियुक्ति भएकोले कसलाई नियुक्त गर्ने भन्ने विषयमा भने लगभग टुङ्गो लागिसकेको चर्चा बजारमा छ।


