दाउन्नेमा ३६ घण्टादेखिको जाम अझै खुलेन |
बुटवल । दाउन्नेमा बुधबार बिहान १० बजेबाट सुरु भएको जाम अहिले साँझ ९ बजेसम्म पनि खुलेको छैन । राजमार्गमा खाल्डै खाल्डा भएको र ठाउँठाउँमा गाडी बिग्रिएकाले राजमार्ग अवरुद्ध भएको हो ।
सानो गाडीमा बर्दघाटबाट कावासोती आउन दिनैभरि नै जाममा परेर सास्ती भोगेको एक यात्रुले टेलिफोनमा जानकारी दिए ।
सडक फराकिलो पार्ने काम थालेको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले काम नगरेका कारण राजमार्गमा खाल्डैखाल्डा र धुलो अचाक्ली छ ।
इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले दुम्किबास–बर्दघाट खण्डको बर्दघाटतर्फ लामा–लामा भारतीय मालबाहक ट्रक ठाउँठाउँमा बिग्रिएकाले राजमार्ग अवरुद्ध भएको जानकारी दिए । ’सडकभरि खाल्डैखाल्डा छन् । मालबाहक गाडी बिग्रिरहन्छ । यो सधैंको समस्या हो,’ उनले भने, ’एकतर्फी खुलाउने प्रयास गरेको छु ।’ राजमार्ग पक्की नभएसम्म यो समस्या दिनहुँ यस्तै विकराल रहने उनले सुनाए ।
देशकै लाइफलाइन मानिने यो राजमार्ग दसैंयता सधैं यस्तै अवस्थामा छ । राजमार्गमा धुलैधुलोले यात्रुले सास्ती पाएका छन् ।


