दरबार हाई स्कुलमा दुई पुस्तकालयको उद्घाटन, प्रभाकर एसजेबी राणाको नाममा पुस्तकालय स्थापना |
काठमाडौं । स्वर्गीय प्रभाकर एसजेबी राणाकी छोरी माया राणा तुफोले दरबार स्कुलको दुई पुस्तकालयका लागि सहयोग गरेकी छन् । उनले आफ्नो बुबाले शैक्षिक र तालिम कार्यक्रममा जोड दिनु भएकाले समुदायको लागि पुस्तकालय स्थापना गर्ने जिम्मेवारी लिने संस्थालाई रकमदिन चाहेको बताइन । पुस्तकालयले विद्यार्थी र शिक्षक दुवैलाई प्रोत्साहन गर्ने उनले विश्वास व्यक्त गरिन् । उक्त पुस्तकालयको उद्घाटन काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले गरे ।
स्कुलमा बुधबारदेखि ‘पाणिनी’ र ‘दरबार पुस्तकालय’ सुरु भएका हुन् । उक्त पुस्तकालयमा विद्यार्थीले अनलाइन पुस्तक पढ्न सक्ने हाई स्कुलले जानकारी दिएको छ । यसबाट विद्यार्थीहरूलाई अनलाइनमार्फत सिक्ने प्रवृत्तिसँग परिचित हुने अवसर र अनुसन्धानका लागि उपयोगी हुने सामग्रीसमेत उपलब्ध हुनेछ ।
विद्यालयमा पुस्तकालयको साथ विद्यार्थीमा पढ्ने संस्कृति तथा जीवन भर सिक्ने बानीलाई प्रोत्साहित गर्ने लक्ष्य रहेको क्लबकी प्रेसिडेन्ट सीमा गोल्छाले बताइन् ।
क्लबले यी दुबै पुस्तकालयको हेरचाहका लागि एक लाइब्रेरियन र लाइब्रेरी एसिस्ट्यान्ट नियुक्त गरेको छ । जसले विद्यार्थीहरूलाई पुस्तक छनोटमा सहयोग गर्ने क्लबले जानकारी दिएको छ । दरबार हाई स्कुलमा संस्कृत मावि र भानु मावि गरी दुई विद्यालय छन् ।


